कास्कीमा पहिरोले छोरी-ज्वाइँसहित एकै परिवारका सातको मृत्यु, दुई बेपत्ता

Advertisement

काठमाडौं । गए राति पहिरो जाँदा कास्कीमा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा गएको पहिरोमा एकै परिवारका सात जनाको मृत्यु भएको हो । 

अविरल वर्षाका कारण पहिरो जाँदा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएको प्रहरीको भनाइ छ ।

Advertisement

बिहीबार राति करिव १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा परियार, छोरी १५ वर्षीय प्रशना परियार, २० वर्षीया प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको हो । 

कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको हो । पोखरा–३२ मा चैनपुरमा गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।

यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् भने ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको जनाइएको छ ।

मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जानकारी दिएको छ । 

Advertisement

Advertisement