विश्वासको मत नपाउने भएपछि संसद्मा प्रचण्डको भावुक र आक्रोशपूर्ण सम्बोधन (पूर्णपाठ)

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्न उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतै भावुक त कतै आक्रोशित सुनिएका छन् । 

विश्वासको मत गुमाउने लगभग निश्चित भएपछि उनको सम्बोधन भावुक र आक्रोशित सुनिएको छ । 

Advertisement

उनले सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सृजना भएको बताएका छन् । ‘मैले सङ्कल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढङ्गको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसङ्कल्प छु,’ प्रधानमन्त्री दाहालले भने, ‘राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गरियो । सरकारले विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व स्थापित गराउने  प्रयास ग¥यो ।  जनतालाई सुशासनको अनुभूति गराउने प्रयास भयो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास मेरो नेतृत्वको सरकारले गर्‍यो । ’

द्वन्द्वतिर नलागौँ

समावेशीतालाई खारेज गर्ने मनशायले नयाँ गठबन्धन बनेको टिप्पणी गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्तावसमेत गरेका छन् । 

‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले छलफल हुन्छ ?त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ?’ उनले भने । 

साथै उनले वामपन्थी आन्दोलनको भावुक बहकाउमा नै आफूले नेकपा एमालेसँग गठबन्धन गरेको बताएका छन् । तर, आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याएको आरोप लगाए ।

तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै आफूलाई एमालेसहितको गठबन्धनमा लगेको उनले बताए । सरकारको गियर परिवर्तनका लागि एमालेसँगको ठीकै बाटो हो भन्ने मानेको पनि सुनाए ।

‘नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मक रूपमा सकारात्मक वातावरण बन्यो पनि । जनतामा आशा पनि जाग्यो । तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ,’ उनले भने,‘केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ, स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ ।’

 

 

 

Advertisement

Advertisement