बेचन झा र प्रतिक थापाको फाइल खोलेको २४ घण्टामा सरकार ढालियोः गृहमन्त्री लामिछाने

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् । शुक्रवार संसदमा उनले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताए । 

केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताउँदै लामिछानेले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको बताए । उनले सुशासनको अपेक्षा गर्ने ? भनि प्रश्न पनि गरे । 

Advertisement

मन्त्री लामिछानेले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए । उनले भने, ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो ? हाम्रो सहमति के भयो भनेर तपाईंहरुले सदनलाई ढाट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो ? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो ? स्पष्ट छ । केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउबाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन ।’ 

उनले थपे, ‘तपाईंहरुले आफुले गरेको सहमती खल्तीमा हाल्नुभएको छ । देखेका छैनौँ । मलाई दुःख लाग्छ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतलाई भेट्न गएर भन्नुहुन्छ, म तपाईको पक्षमा छु । तिनीहरुले गलत गरे म तिनीहरुलाई ठिक पार्छु भनेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति सिंगो पार्टीको सांसद बोकेर जानुहुन्छ । सुशासनको अपेक्षा गर्ने ? अब त संसदीय समितिमा पनि तपाईहरुको बहुमत भयो होला । अब त मलाई ठग प्रमाणित गर्न तपाईहरुलाई कुनै आपत पनि पर्दैन होला । गर्नुस् ठग प्रमाणित । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात् म बाट गर्नुस् म तयार छु । तर सत्यबाट विमुख हुनेवाला छैन । कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाटै गर्नुस् । मैले औपचारिक उद्घाटन गरे नेपालगञ्जमा एउटा जेल । भ्रष्टलाई जेल हाल्छु । सुशासनको एजेण्डा लिएर । यो व्यवस्था जोगाउनको निम्ति ज्यान दिन तयार छौँ । यसलाई तलमाथि पार्न दिँदैनौँ ।’

लामिछानेले अनुसन्धानको सुई कसैको ढोका ढक्ढकाउन थालेपछि दुई ठूला दललाई संविधानको याद आएको टिप्पणी गरे । 

Advertisement

Advertisement