ब्रिटिस कलेजले किन्यो क्यानडाको १२५ वर्ष पुरानो मेरिटाइम बिजनेस कलेज

Advertisement

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज खरिद (अधिग्रहण) गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी) खरिद गरेको हो ।

सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकता पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरुको अध्यापन गराउँदै आएको छ ।

Advertisement

स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ । अब ब्रिटिस एजुकेशन ग्रुपले सो कलेजलाई खरिद गरेसँगै लण्डनस्थित द उलविच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ ।

शैक्षिक नेटवर्कलाई विस्तार गर्दै लगेको ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेलले भने, ‘हामी आफ्ना विद्यार्थीहरुलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छौं । यस अधिग्रहणले नेपाल, दुबई, र क्यानाडाका हाम्रा क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ग्लोवल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवद्र्धन गर्नेछ ।’

सीईओ कँडेलले ६ महिनाभन्दा बढी लामो समयको अधिग्रहण प्रकृयामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गर्दै कृतज्ञता व्यक्त गरे । 

ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरुलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेकोे छ । पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताको लागि महत्वपूर्ण उपलब्धि भएको ग्रुपको विश्वास छ ।

Advertisement

Advertisement