काठमाडौं । परराष्ट्रमन्त्री पदबाट बिदा भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताएका छन् ।
आईतवार अपरान्ह मन्त्रालयका आयोजित विदाई कार्यक्रममा उनले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरंग निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताए ।
श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताए । उनले भोलेन्टियरको रुपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको बताए ।
श्रेष्ठले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरुसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालयसँग त म अन्तरंग निकट रहन्छु ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाओस् । परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढंगले गरोस् । त्यसको निम्ति आफ्नो तर्फबाट तपाईहरुसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरु गर्ने, यसलाई उन्नत स्तरको संसारको अहिलेको आवश्यकतालाई मिट गर्नसक्ने परराष्ट्र मन्त्रालयको रुपमा विकसित गर्ने काममा म तपाईंहरुको साथमा रहनेछु ।’
श्रेष्ठले थपे, ‘मैले त भनेको पनि थिए–अर्को मन्त्री जो आउनु होला । एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ । मलाई भोलेन्टियर भएपनि सल्लाहकार भएपनि बनाउनु न । केही समयका लागि । पूरै समय त म दिन सक्दिन । मान्छे के के गर्ने तपाई गर्नुस् । सिष्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ । तर केही कामहरु छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न मलाई तपाईको भोलेन्टियर बनाउन न भन्न मलाई मन लागिरहेको छ । त्यसरी भनेपनि नभनेपनि म यो कामहरुलाई पूरा गर्न दृढतापूर्वक राज्यको सबै पक्षहरुसँग छलफल, संवाद, अन्तरक्रियामा हुनेछु । त्यसको निम्ति मेरो सधै प्रयत्न रहनेछ ।’
श्रेष्ठले आफूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको दाबी समेत गरे ।