प्रहरीलाई लामिछानेको आग्रह– ममाथि अनुसन्धान गर्नुस्

Advertisement

काठमाडौं । कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । 

आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए । 

Advertisement

आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको लामिछानेको जिकिर छ । उनले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको दावी पनि गरे । लामिछानेले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए । 

गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने लामिछानेले बताए । उनले सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए । 

नेता लामिछानेले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए । उनले सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी पनि गरे । 

लामिछानेले भने, ‘सरुवा, बढुवाका कुराहरु छन् । सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । कहिले कहीँ प्यासनको आधारमा मान्छेलाई यता उति सार्नेबाहेक हामीले विधि मिच्ने काम गरेका छैनौँ । बाँकी रह्यो मेरो कुरा । विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन् । उठ्छ, हिजो पनि उठेका हुन् । मैले आजसम्म यहाँहरु सबै यही साँक्षी हुनुहुन्छ । आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन । निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अफ्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’

उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए । दुई ठूला राजनीतिक दलहरु एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको बताए । 

Advertisement

Advertisement