नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धनमा सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

Advertisement

काठमाडौं । नेपाल नवीकरणीय ऊर्जा परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई मंगलबार भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल वायोग्यास प्रवद्र्धन संघ, जल तथा ऊर्जा पराशर्मदाता संघ नेपाललगायत संस्थाका पदाधिकारीले संयुक्तरूपमा नवनियुक्त मन्त्रीहरुलाई ऊर्जा क्षेत्रको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउन उनीहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गरेका छन् ।

Advertisement

उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धनमा विशेष ध्यान दिन सरकार प्रतिबद्ध रहेकाले निजी क्षेत्रलाई लिखित रुपमै आवश्यक सुझाव उपलब्ध गराउनका आग्रह गरे । 

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार तयार रहेको तथा निजी क्षेत्रलाई नतिजामुखी कार्यमा अगाडि बढ्नको लागि आग्रह गर्दै नवीकरणीय ऊर्जा परिसंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरे ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । परिसंघले सरकारसँग सहकार्य गर्दै नवीकरणीय ऊर्जा स्रोतहरुको प्रवर्द्धन, नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मंगलबार नै परिसंघले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवालसँग पनि भेट गरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रको महत्वपूर्णता र प्राथमिकतामा ध्यान आकर्षित गराएको छ ।


 

Advertisement