प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

Advertisement

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि आज बस्ने प्रतिनिधिसभाबाटै लिँदैछन् । 

संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले यही असार २ गते सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेका थिए । 

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६ (२) बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

दुई ठूला दलबीचको सहमतिपछि अल्पमतमा पर्नुभएको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् । 

प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) रहने स्पष्ट देखिएको छ, भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।

एमालेले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्विप जारी गरिसकेको छ । सोही विषयमा निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै बिहान बस्दैछ । 

Advertisement