काठमाडौं । माओवादी केन्द्रका नेता तथा निवर्तमान अर्थमन्त्री बर्षमान पुनले गिरिबन्धु ‘टी–इस्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको दावी गरेका छन् ।
आइतबार संसदमा उनले प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गिरिबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ ? भन्नेमा काँग्रेसलाई प्रश्न पनि गरे ।
पुनले भने, ‘कमरेड प्रचण्ड (पुष्पकमल दाहाल) नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्दा, त्यसैगरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी–इस्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ । त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ ।’
उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्धु टी–इस्टेट गिरीबन्धु टी–इस्टेट भन्नुभएको थियो । यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन् ।’
पुनले आफ्ना अध्यक्ष दाहाल नेतृत्वको सरकारले सुशासन र भष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे ।