दुग्धजन्य पदार्थ बिकेन भन्ने डीडीसीको उत्पादन नै पाइँदैन बजारमा

Advertisement

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले गत जेठ २८ गते एक सूचना प्रकाशित गरी धुलो दुध र बटर बिक्रीका लागि सिलबन्दी प्रस्ताव आह्वान गर्यो । आह्वान अनुसार धुलो दुध बिक्रीवितरण भए पनि मखन बिक्री भएको छैन । 

डीडीसीले धुलो दुध र मखन बिक्रीका लागि यस्तो आह्वान गरेको मात्र होइन, झोल दुध, दही, घिउलगायतका दुग्ध पदार्थ बिक्रीका लागि बेला बेलामा आह्वान गरिरहेको हुन्छ । आह्वान त गर्छन् तर उपभोक्ताले खोजेका बेला डीडीसीले उत्पादन गरेको दुग्ध पदार्थ पाउँदैनन् । बढी भएको दुग्ध पदार्थ बिक्री नभएका कारण किसानलाई भुक्तानी गर्न समस्या भइरहेको भनी डीडीसीले मौज्दात रहेको दुग्ध पदार्थ बिक्री गर्न अनेक उपाय लगाइरहेको हुन्छ तर पनि डीडीसीले सोचे जस्तो बिक्री गर्न सकिरहेको छैन । 

Advertisement

यसका कारण हो बजारसम्म पहुँच । डीडीसीले उत्पादन गरेको दुग्ध पदार्थ उपत्यकामा नै सबै ठाउँमा पाइँदैन । उपभोक्ताले खोजेका बेला, खोजेको ठाउँमा पाएका हुँदैनन् । कोटेश्वरमा किराना पसल सञ्चालन गर्दै आएकी कल्पना घिमिरे वितरकले चार प्याकेट दुध दिएर जान्छन् तर चार वटा प्याकेट दुध दुई जना ग्राहकलाई पनि नपुगेको बताउँछन् । 

उनले भनिन्, ‘त्यो चारवटा दुधको प्याकेट दुई जना ग्राहकले लैजान्छन् अरू ग्राहक फर्केर जान्छन् । वितरणसँग थप दुध माग्दा यति मात्रै छ, सबैलाई पुर्याउनु पर्छ भन्दै जान्छन् ।’ यो समस्या कल्पनाको मात्र होइन, शङ्खमूलका किराना पसले मानबहादुर तिमिल्सिनाको पनि रहेको छ । उनले पनि डीडीसीको दुध र घिउ खोज्न ग्राहक आउँछन् तर आफूले दिन नसकेको बताउँछन् । डीडीसी ब्रान्डका दुग्धजन्य पदार्थ खोज्ने धेरै छन् तर नपाएपछि बाध्य भएर अरू दुध, दही लिएर जाने गरेको उहाँले बताउनुभयो । निजी क्षेत्रका कम्पनीहरू जतिबेला पनि गाडीमा दुध, दही, घिउलगायतका सामान बिक्री गर्दै हिँडेका देखिन्छन् तर डीडीसीबाट बिहान एक पटक पुर्याइदिन्छन्, त्यसपछि कहीँकतै कसैलाई देखिएको हुँदैन ।

यता डीडीसीका व्यवस्थापकले दुग्ध पदार्थ बिक्री नभएर मौज्दात बढ्दै गएको दाबी गर्दै आएका छन् । उपत्यकाभरि डिडिसीका चार वटा वितरक र एक हजार दुई सय वटा बुथ नै छन् । तैपनि उपभोक्ताको घर घरमा डिडिसीको दुग्धजन्य पदार्थ पुगेको छैन । 

कोभिडअघि डीडीसीको एक लाख २० हजार लिटर दुध नेपालमा खपत हुन्थ्यो तर अहिले ७० हजार लिटरमा झरेको छ । डीडीसीका सूचना अधिकारी एवं निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले डीडीसीको दुध पाइएन भनी गुनासो कहाँकतैबाट नआएको दाबी गरे । उनले भने, ‘दुध तथा दुग्धजन्य पदार्थ पाइएन भनी कहीँबाट कुनै गुनासो आएको छैन, त्यस्तो गुनासो आयो भने हामी तुरुन्तै पुर्याउने छौँ तर आजसम्म त्यस्तो गुनासो आएको छैन ।’

उपत्यकाभरि सबै ठाउँमा डीडीसीले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थ गइरहेको दाबी गर्दै उनले यो आर्थिक वर्षमा बजार प्रवर्धनमा विशेष जोड दिने तयारी गरेको बताए । वितरणमा कही समस्या छ, उपभोक्ताले दुग्ध पदार्थ पाइरहेका छैनन् कि जस्ता विषयमा अध्ययनसमेत गरिने बताउँदै कहीँकतै समस्या छ भने त्यसलाई सुधार गर्न डीडीसी तत्पर रहेको उनको भनाइ छ । 

Advertisement