काठमाडौं । साताको पहिलो दिन ह्वात्तै उचालिएको शेयर बजार आज सोमबार भने दोहोरो अंकले घटेको छ । नेप्से तल झरेपछि लगानीकर्ताहरुले अत्तालिएर शेयर बेच्दा एकै दिन साढे १९ अर्बको कारोबार भएको छ ।
राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याएको भन्दै हिजो भने बजार ११३ अंक उचालिएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २०.४६ अंकले तल झरेको हो । ०.७६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६१.०९ अंकमा झरेको छ ।
समग्रमा बजार तल झरेपछि फाइनान्स र हाइड्रो बाहेका अरु बाँकी समूह राताम्मे भएका छन् । वित्त १.८८ र हाइड्रो ०.८१ प्रतिशतले बढे । आज ट्रेडिङ समूह सबैभन्दा बढी ४.५४ प्रतिशतले घट्यो ।
आज ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लख ७७ हजार १ सय ६.२९ रुपियाँ बराबरको कारोबार भएको छ ।
नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७७ प्रतिशतले नाफा कमाए भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३५ प्रतिशतले घाटा व्यहोरे ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ६१ करोड १२ लाख ८६ हजार ६ सय ८३.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ११३.४२ अंकले बजार उचालिंदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ बराबरको कारोबार भएको थियो ।