आरक्षण विवादले बंगलादेशमा फेरि आन्दोलन चर्किलो, प्रदर्शनका क्रममा आज ५० भन्दा धेरैको मृत्यु

Advertisement

काठमाडौं । बंगलादेशमा पुनः आन्दोलन चर्किएको छ । सरकारविरोध प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा ५० जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । 

आरक्षणसम्वन्धी विवादमा फेरि आन्दोलन चर्किएर हिंसात्मक रुप लिएपछि त्यहाँको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर आज साँझ ६ बजेबाट कर्फ्यू घोषणा गरेको हो ।

Advertisement

मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ । सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ । 

गृह मन्त्रालयका अनुसार सबै प्रमुख शहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ । यसअघि लगाइएको कर्फ्यू आज बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो ।

राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ ।

आइतवारको प्रदर्शनका क्रममा करिब दुई सय जना मानिसहरू घाइते भएको विवरण आएका छन् । राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएको बीबीसीले जनाएको छ ।

Advertisement

Advertisement