श्रीलंकाले भित्र्यायो ९ महिनामा ४.८ बिलियन डलर, विप्रेषण आप्रवाहमा १५ प्रतिशतको वृद्धि !

Advertisement

काठमाडौं । तीव्र आर्थिक संकटबाट विस्तारै लय समाउदै गरेको श्रीलंकाले पछिल्लो ९ महिनमा ४.८ बिलियन अर्थात् ४ अर्ब ८४ करोड अमेरिकी डलर बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्र्याएको छ । देशको केन्द्रीय बैंक, बैंक अफ सिलोनले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्ममा उक्त रेमिट्यान्स भित्रिएको हो । 

त्यसो त पछिल्लो सेप्टेम्बरमा मात्र ५५५.६ मिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रिएको श्रीलंका स्थित केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भित्रिएको रेमिट्यान्सको तुलनामा १५.२ प्रतिशतले बढी हो ।

Advertisement

यद्यपि, अघिल्लो वर्षको ९ महिनामा भित्रिएको रेमिट्यान्ससँग यसवर्षको तुलना गर्ने हो भने ११.५ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष श्रीलंकाले ४ अर्ब ३५ करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको थियो ।

श्रीलंका नेपाल जस्तै विश्व बजारमा श्रमशक्ति निर्यात गर्ने र विदेशी मुद्रा आर्जन गर्नेमध्येको एक मुख्य देश हो । पछिल्लो समय तीब्र आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले विदेशी मुद्राको सञ्चितिका लागि रेमिट्यान्ससँगै पर्यटन र चियाँ लगायत अन्य वस्तु निर्यातलाई प्राथमिकता दिइरहेको छ ।

यता श्रीलंका स्थित केन्द्रीय बैंकले समानान्तर विनिमय दर प्रणाली छोडेपछि रेमिट्यान्स आयातमा निरन्तर बढिरहेको छ । जसका कारण विदेशमा काम गरेर पैसा पठाउने कामदार श्रमिकहरुलाई समेत  अनौपचारिक च्यानलमार्फत आफ्नो देशमा पैसा पठाउन प्रोत्साहन गरिरहेको छ । 

टापुको देश श्रीलंकाले पछिल्लो समय समानान्तर विनिमय दर उन्मूलन गर्नुपूर्व एक वर्ष अघि जम्मा ३.८ बिलियन डलर मात्र भित्रिएकोमा पछिल्लो वर्ष सन् २०२३ मा औपचारिक बैंकिङ च्यानलबाट आउने रेमिट्यान्समा ५७ प्रतिशतले सम्मले वृद्धि भएको श्रीलंका स्थित केन्द्रीय बैंकले जनाएको छ । 

त्यसो त आर्थिक संकटमा फसेसँगै श्रीलंकाले विदेशी मुद्रा आर्जन गर्न जतिसक्दो बढी श्रमिक बाहिर पठाउने नीति समेत अघि सारेको छ । 

Advertisement

Advertisement