क्यानले ‘सोलो’ प्याराग्लाइडिङ उडान रोकेपछि खेलाडीहरु भारतमा अभ्यास गर्न जान बाध्य

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालमा ‘सोलो’ (एकल) प्याराग्लाइडिङ उडान रोकेपछि नेपाली खेलाडीहरु अभ्यासका लागि विदेश जान बाध्य भएका छन् । 

क्यानले यस्तो उडानका रोकेको दुई बर्ष भइसक्दा पनि खुल्ला नगरेपछि उनीहरु भारतलगायतका देशमा अभ्यासका लागि जान बाध्य भएका हुन् । पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदमा क्रस कन्ट्री खेलका क्रममा सहभागी प्याराग्लाइडिङ खेलाडी तथा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि क्यानले देशभरका यस्ता उडानहरु रोकेको थियो । 

Advertisement

प्राधिकरणले व्यवसायिक उडान खुल्ला गरे पनि सोलो उडानका लागि भने खुल्ला नगरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघका अध्यक्ष भूपेन्द्र चाम्लिङ राई बताउँछन् । ‘सोलो’ उडानमा लगाएको रोकले नेपालका तीन सयभन्दा बढी प्याराग्लाइडिङ पाइलट भारतमा तालिम तथा अभ्यास गरिरहेको उनले बताए । 

नेपाल हवाई खेलकुद संस्था (ना)लाई व्यवसायिक उडानका लागि प्राधिकरणले सम्बन्धन दिएको संस्था हो । व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि पनि सोलो अभ्यास नगरि उडान गर्न नसकिने भन्दै राईले खेल तालिमको सम्बन्धनमा नेपालका सबै खेलाडीलाई सोलो उडान नदिएकोले भारतलगायतका देशहरुमा गरिरहेको बताए । 

नेपालले १८ औं एसियन खेलमा ४६ मध्ये प्याराग्लाइडिङले मात्र रजत पदक ल्याउन सफल भएको थियो । प्राधिकरणबाट लाइसेन्स लिएर मात्र व्यवसायिक प्याराग्लाइडिङ उडान गर्न मिल्छ । राईले भने, ‘सुरुमा ‘सोलो’ सिक्नपर्छ । जति पनि प्याराग्लाइडिङ सामग्रीसम्बन्धी ग्ल्यान्डरको ज्ञान भनेको सोलो उडान गर्दा थाहा हुने हो । साथै १८ देखि २४ महिनासम्म तालिम गरेपछि टेन्डम पाइलट बन्छ ।’

प्राधिकरणले सोलो प्याराग्लाइडिङ उडान रोकेकाले प्याराग्लाइडिङ खेलाडीहरुले कुनै पनि अन्तर्राष्ट्रिय खेलहरुमा जान नपाएपछि बाध्य भएर अरु देशमा अभ्यासका लागि  गएको उनले बताए । राईले थपे, ‘प्याराग्लाइडिङ पाइलट बन्न पहिला १८ देखि २४ महिना सोलो सिकिसकेपछि ११ वटा पाठ्यक्रम पास गर्नुपर्छ । त्यसपछि मात्र व्यवसायिक टेन्डमको प्रकियामा जान्छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय इजाजत संसार भरिका जम्मा १४० भन्दा बढी देशहरुमा सम्बन्ध छ । विदेशी भिजिटर पाइलट नेपाल आउँदा फन–फ्लाइङ गर्न आउने १४० भन्दा बढी देशबाट कम्तिमा वार्षिक तीन लाखभन्दा बढी रहेको तत्यांकले देखाएको छ । नेपालमा साहसिक खेलमार्पmत पर्यटन प्रवर्द्धन गर्ने अथाह संभावना छ ।

‘फन–फ्लाइङ’ विशुद्ध सोलो उडन गर्ने हो भन्दै राईले नेपालमा यस्ता पर्यटक आफ्नै ग्ल्यान्डर बोकेर उड्ने, ती पाइलटहरुले विमानस्थलमै कर बुझाएर नेपाल भित्रिने बताए । नेपालमा अधिकांश महिना प्याराग्लाइडिङ उडान गर्न सकिने भन्दै उनले अरु सबै देशमा यस्तो नरहेको बताए । 

राईले भने, ‘यो संभावनालाई सरकारले सदुपयोग गर्नुपर्छ । तराईबाहेक नेपालका सबै पहाडी र हिमाली जिल्लामा प्याराग्लाइडिङ गर्नसक्ने संभावना छ । यसलाई सहजीकरण गरियोस भन्ने हाम्रो माग हो । मुख्य कुरा ठाउँहरु निधारण गरी दिनुपर्यो ।’ उनले अहिले नेपालीहरुले १० औं राष्ट्रिय खेलको लागि भारत तयारी राम्रो कुरा होइन् भन्दै सोलो लडानमा लगाइएको प्रतिवन्ध हटाउन गत बर्ष नै प्राधिकरणले निवेदन दिँदा पनि सुनुवाई नभएको बताए । 

राईले थपे, ‘गत बर्ष नै हामीले लिखित आग्रह गरेको । मौखिंकरुपमा पनि भन्दै आएका छौं । छलफलको लागि प्राधिकरणले बोलाएको छैन । सोलो उडान रोकेको दुई वर्ष भइसक्यो । सुदन किरातीदेखि हितबहादुर तामाङसम्मका पर्यटनमन्त्रीलाई भेटेर पनि कुरा गरेको हो । प्राधिकरणको सेफ्टी डिपार्टमेन्टका कर्मचारीसँग कुरा गर्दा महानिर्देशकले नै अनुमति दिनुपर्छ भन्छन् । महानिर्देशक चासै दिनुहुन्न ।’ यस विषयमा नयाँ पर्यटनमन्त्रीसँग पनि कुरा गर्ने उनले बताए । 

यस्तो सोलो उडानका लागि प्राधिकरणले अध्ययन गरी ‘एयरस्पेस’ निर्धारण गर्नुपर्ने हुन्छ भने खेलका लागि राष्ट्रिय खेलकुद परिषदमा संघ दर्ता गरि उक्त संघमार्फत खेलकुदको अनुमति लिनुपर्छ । 

छोटो प्रतिक्रियामा प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले सालो उडानका लागि खुल्ला गर्ने कुनै तयारी नरहेको बताए । त्यसको कारण पोखराको दुर्घटनालाई उनले देखाए । 

Advertisement

Advertisement