काठमाडौं । एनआईसी एसिया बैंकले चार कम्पनीहरूको स्वामित्वमा रहेको आफ्नो संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।
बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी) को ५० हजार, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा रहेको ९२ हजार ३४९ गरी कुल ११ लाख ५८ हजार ८५७ कित्ता बिक्रीका लागि राखेको हो ।
निफ्रा, सूर्योदय वोमी र सूर्यज्योति लाइफको शेयर खरिदका लागि प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ता सहभागी हुन सक्नेछन् । त्यस्तै, सीआईटीको शेयर भने बोलकबोल प्रक्रियाबाट खरिद गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै खरिद गर्न पाउनेछन् । न्यूनतम ५ हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताले साउन २९ गतेसम्म गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।
यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको थियो । तर आवेदन नपरेपछि सर्वसाधारणलाई खुला गरिएको हो । संस्थापक शेयर खरिद गर्ने व्यक्ति संस्थापक समूहभित्र नै समावेश हुने बताइएको छ ।
निफ्राको प्रतिकित्तान्यूनतम शेयर मूल्य १०१, सीआईटीको ८३३ सूर्योदय वोमीको ३९९ र सूर्यज्योति लाइफको १८५ रूपियाँ तोकिएको छ ।
बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिनेछ ।
बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।