काठमाडौं । केही सातादेखि बढिरहेको शेयर बजार आज उच्च अंकले तल झरेको छ । बजार बढेर हिजो २७९६.३८ अंकमा उक्लिएको नेप्से आज झरेर २६५१.३२ अंकमा ओर्लिएको छ ।
गत साउन १६ गते एकै दिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१.०६ रुपियाँको कारोबार भएको रेकर्ड आज तोडिएको छ । आज एकै दिन २३ अर्ब २१ करोडको शेयर किनबेच भएर नयाँ रेकर्ड बनेको छ । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको रेकर्ड विद्यमान छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४५.०५ अंकले घटेको हो । ५.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५१.३२ अंकमा झरेको छ ।
बजार ओरालो लागेसँगै आज सबै समूह राताम्मे भएका छन् । वित्त र होटल समूह सबैभन्दा बढी क्रमशः ८.२७ र ८.०३ प्रतिशतले घटेका छन् ।
आज ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४.१० रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार घटे पनि थ्री स्टार हाइड्रो र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले क्रमशः १० र ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज विभिन्न २० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहोरेका छन् । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्यामाई हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर र हाथवेका लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
त्यस्तै ओरियन्टल होटल, श्री इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल, मोलुङ हाइड्रो, वेस्ट फाइनान्स, नेपाल वायरहाउजिङ, रिलायन्स फाइनान्स, सिटिजन्स बैंक, एचआईडीसीएल, सानिमा बैंक, मकर जितुमाया हाइड्रो, हिमालयन बैंक र एनआईएमबि बैंकका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी घाटा व्यहोरेका छन् । आज ३० कम्पनीबाहेक अन्यको सबैको शेयर मूल्य घटेको छ ।
हिमालयन रि–इन्स्योेरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख ८० हजार ३ सय ८३.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
शेयर बजारबारे सांसदहरुकाले गरेको नकारात्मक टिप्पणी र बैंक तथा वित्तीय संस्थाहरुको नाफा घटेको रिपोर्ट सार्वजनिक भएसँगै बजारमा करेक्शन आएको विश्लेषकहरुको प्रतिक्रिया छ ।
साताको पहिलो दिन आइतबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने हिजो सोमबार ४०.७६ अंकले बजार बढ्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ बराबरको कारोबार भएको थियो ।