काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन मर्चेन्ट बैंकरलाई सञ्चालनको लागि इजाजत पत्र (लाइसेन्स) दिने निर्णय गरेको छ ।
बुधबार सम्पन्न बोर्डको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यो मर्चेन्ट बैंकरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी छ । बोर्डमा लाइसेन्सका लागि अन्य कम्पनीहरुको पनि आवेदन रहेका छन् । त्यसमा हिमालयन मर्चेन्टको प्रक्रिया पूरा भएकाले लाइसेन्स दिने निर्णय गरेको बोर्डका एक उच्च अधिकारीले बताए । अन्य कम्पनीको आवेदन भने प्रक्रियामै रहेको उनले बताए ।
अहिले नेपालमा २९ वटा मर्चेन्ट बैंकर छन् । हिमालयन मर्चेन्ट बैंकर थपिएपछि यसको संख्या ३० वटा पुगेको छ । मर्चेन्ट बैंकरले बिशेषगरि शेयर निष्काशन तथा बिक्री सम्बन्धी काम गर्छन् ।
शेयर निष्काशन गर्ने कम्पनीको बिक्री प्रवन्धक हुने, शेयर निष्काशनको प्रस्ताव तथा विवरण तयार गरिदिने, लगानीको परामर्श दिने, शेयरधनीको विवरण राख्ने, शेयर बिक्रीको ग्यारेन्टी गर्ने, शेयर बिक्री नभएमा आफुले किन्ने गरि प्रत्याभुति दिने लगायतका काम मर्चेन्ट बैंकरले गर्छन् ।