सुरक्षाको कारण देखाउँदै गुगलले ई–सेवा एप प्लेस्टोरबाट हटाएपछि लाखौं प्रयोगकर्ता सशंकित

Advertisement

काठमाडौं । सुरक्षाको कारण देखाउँदै गुगलले भुक्तानी सेवा प्रदायक ई–सेवाको एप दुई दिनसम्म प्लेस्टोरबाट हटाएपछि ई–सेवा प्रयोगकर्ताहरुमा त्रास उत्पन्न भएको छ । 

रकम भुक्तानी गर्ने नेपालको ठूलो वालेट कम्पनीमा नै गम्भीर सुरक्षा चुनौति देखिएपछि एप प्रयोगकर्ताहरुले प्रश्न उठाएका हुन् । शंकास्पद कारोबारका कारण गुगलले प्लेस्टोरबाट ई–सेवाको एप हटाइएपछि धेरै प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

Advertisement

तर ई–सेवाले भने व्यावसायिक एपबारे गुगलको नयाँ निर्देशिकानुसार आफ्नो कम्पनीले गुगललाई बुझाएका कागजपत्र र तेस्रो पक्षले गुगललाई उपलब्ध गराएका दस्तावेजमा कम्पनीको नाम फरक देखिएका आधारमा गुगलले प्लेस्टोरबाट आफूहरुको एप हटाइदिएको दावी गरेको छ । 

सुरक्षा वा गोपनीयतासम्बन्धी कुनै पनि कारणले नभएको उसको दावी छ । कम्पनीले यस्तो दावी गरे पनि सामाजिक सञ्जालमा भने प्रयोगकर्ताले ई–सेवा र उसको एप प्रयोग गर्दा रकमको सरक्षा र गोपनियता हुने कुरामा आशंका व्यक्त गरेका छन् । 

प्रयोगकर्ताहरूले सुरक्षाका कारण एप हटाइएको हुन सक्ने भन्दै ई–सेवा प्रयोग नगर्न तथा त्यसमा रहेको नगदलाई अन्यत्र सार्न सुझाव पनि दिएका छन् । अहिले भने ई–सेवाको एप प्लेस्टोरमा उपलब्ध भइसके पनि उक्त वालेटमार्फत प्रयोगकर्ताले ढुक्कसँग कारोबार गर्न सकेका छैनन् । 

यता नेपाल राष्ट्र ब्याङ्कले पनि यस घटनालाई गम्भीरतापूर्वक लिएको र त्यसबारे थप बुझेर आवश्यक काम गर्ने बताइसकेको छ । नेपालमा ८० लाखभन्दा बढी प्रयोगकर्ता भएको भनिएको ई–सेवा एप र वेभसाइट अनलाइन जुवा (बेटिङ)को गेटवेको रुपमा प्रयोग भएको प्रहरीले बताएको थियो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका तत्कालिन प्रमुख मनोज केसीले यस्तो बेटिङमा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गर्ने क्रममा ई–सेवालगायतका केही वालेट कम्पनी अवैध अनलाइन जुवाको गेटवेको माध्यम बनेको बताएका थिए । आफ्ना लाखौं प्रयोगकर्ताहरुको आशंका बढ्दै गए पनि ई–सेवा र यसको माउ कम्पनी एफवान सफ्टले गुगलसँग भएका कुराकानीको आधारहरु प्रस्तुत गर्न सकेको छैन् । 

Advertisement

Advertisement