काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ ।
कम्पनीले आज (साउन २७ गते) देखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ छ । कम्पनीले उक्त पुँजीको १०० अंकित दरमा साविकका शेयरधनीका लागि ८० लाख कित्ताको १ः१.५ अनुपातले हुन आउने एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपियाँ पुग्नेछ।
कम्पनीको हकप्रदमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेको छ । यसर्थ, असार ३१ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद निष्कासक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।