काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो देशको पछिल्लो विद्यार्थी आन्दोलनमा विदेशी शक्तिको हात रहेको खुलासा गरेकी छन् ।
आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई सन्देश पठाउँदै उनले आरक्षणको नीतिविरुद्ध विद्यार्थीको नाममा भएको आन्दोलनमा विदेशीको हात रहेको दावी गरेकी हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट भएको भन्दै हसिनासँग अमेरिकासहित पश्चिमा राष्ट्रहरु असन्तुष्ट रहँदै आएका थिए ।
उनले आफ्नो हार भएको स्वीकार गर्दै, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’ द प्रिन्टमा प्रकाशित समाचारअनुसार हसिनाले अन्तरिम सरकारका प्रधानमन्त्रीलाई विदेशीबाट प्रयोग नहुने पनि सल्लाह दिएकी छन् ।
देशबाट पलायन हुनुपरेपछि पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै हसिनाले अमेरिकासँगको आफ्नो कटुतापूर्ण सम्वन्ध समेत सार्वजनिक गरेकी छन् । यसअघि गएको जनवरीमा पनि उनले एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।
दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि साउन २१ मा राजीनामा दिएर भारत पलायन भएकी हसिनाले शबहरुको जुलुस देख्न नपरोस भनेर राजीनामा दिएको बताएकी छन् । ‘उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन’ भन्दै उनले ‘म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला’ भनेकी छन् ।
नेतृ हसिनाले आफू छिट्टै बंगलादेश फर्किने पनि बताएकी छन् । उनले भनेकी छन् ‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो । मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’