काठमाडौं । शेयर बजारमा आज पनि उछाल आएको छ । बजार उचालिएसँगै नेप्से २९ सय अंक माथि पुगेको छ सवा २७ अर्ब कारोबार भएर हिजोको रेकर्ड तोडिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.८१ अंकले बढेको हो । २.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९३१.६५ अंकमा पुगेको छ ।
समग्रमा बजार उचालिए पनि लगानी समूह ०.१९ र उत्पादनमूलक समूह १.१९ प्रतिशतले घटेका छन् । अरु समूहमा भने हरियाली छाएको छ । आज जीवन बीमा समूह सबैभन्दा बढी ५.८५ प्रतिशतले बढेको छ ।
आज ३३९ कम्पनीका ६ करोड ४८ लाख ७६ हजार २ सय १७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । ती मध्ये ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बजार उचालिँदा पनि एक कम्पनीमा भने नेगेटिभ सर्किट लागेको छ । कुथेली बुखरी हाइड्रोको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको हो ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४ सय ३.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।