सीआईबीलाई सेबोनको प्रतिउत्तर–  रिलायन्सको वित्तीय विवरणमा कैफियत छैन, थप अनुसन्धान पर्दैन

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को पत्रको जवाफ पठाउँदै उक्त कम्पनीको वित्तीय विवरणमा कैफियत नभेटिएकोले सीआईबीबाट थप अनुसन्धान जरुरी नरहेको जवाफ दिएको छ । 

धितोपत्र बोर्ड स्रोतका अनुसार यही साउन २४ गते सीआईबीलाई बोर्डले जवाफ पठाउँदै रिलायन्सको वित्तीय विवरणमा समस्या नरहेको बताएको हो । करिब ४८ पृष्ठ लामो जवाफी पत्रमा रिलायन्सको वित्तीय विवरण बदनीयतपूर्व भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख छ । 

Advertisement

पत्रको निष्कर्षमा भनिएको छ, ‘धितोपत्रसम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३, धितोपत्र निष्काशन तथा बाँडफांड निर्देशिका २०७४ र बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०–८१ को प्रथम त्रैमासको प्रतिशेयर आम्दानी शुन्य दशमलब ९६ पैसा र २०८०–८१ को प्रतिशेयर आम्दानी ३२ रुपियाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको बिषयलाई आधार मान्दा  उक्त कम्पनीको वित्तीय प्रक्षेपण असंभव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको ।’

वित्तीय विवरणमा कुनै पनि किसिमको कसूर नभएकाले सीआईबीले थप अनुसन्धान गरिरहन आवश्यक नरहेको बोर्डको निष्कर्ष छ । रिलायन्सको वित्तीय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरीपरेपछि यसबारेको सत्यतथ्य जानकारी दिन सीआईबीले गत असार २६  गते सेबोनलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर त्यसको जवाफ दिनुपर्ने ऐनको व्यवस्था अनुसार बोर्डले साउन २४ मा पत्र बुझाएको थियो । 

रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रक्रिया अघि बढेपछि यसको वित्तीय विवरणलाई लिएर प्रश्न उठेको थियो । कतिपय लगानीकर्तादेखि समितिसम्मले चासो देखाएपछि धितोपत्र बोर्डले नै अर्को निर्णय नभएसम्मका लागि आईपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य निर्धारण गरेर आईपीओ जारी गर्न लागेको रिलाइन्सले शेयर प्रतिकित्ता ८२० रूपियाँ ८० पैसा तोकिएको छ । बोर्डले नै यो प्रक्रिया पुनः खुला गरेकाले अब चाँडै निष्काशन प्रक्रिया अघि बढ्ने देखिएको छ ।  

रिलाइन्स नेपालकै ठूलो उत्पादनमूलक र निर्यातमूलक धागो उद्योग हो जहाँ झण्डै चार हजार मानिसले रोजगारी पाउँदै आएका छन् । धागो निर्यात गरेर आकर्षण नाफा गर्दै आएको यो उद्योगमा गएको बर्ष नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति नगर्दा र आर्थिक मन्दीको प्रभावले उसको नाफामा केही कमी आएको थियो । 

Advertisement

Advertisement