नौ सय ४१ मेगावाट बिजुली निर्यातको बाटो खुल्यो, भारतले दियो स्वीकृति

Advertisement

काठमाडौं । भारतले आफ्नो देशमा थप २५१ मेगावाट विद्युत् बिक्री गर्न नेपाललाई स्वीकृत दिएको छ । बिभिन्न १२ परियोजनाको विद्युत् बिक्री गर्न भारतले स्वीकृत पठाएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । 

योसँगै अब नेपालले भारतमा ९४१ मेगावाट विद्युत् निर्यात गर्न सक्नेछ । यसअघि भारतले नेपाललाई बिभिन्न १६ परियोजनाको ६९० मेगावाट विद्युत् बिक्री गर्न स्वीकृत दिएको थियो । अहिले थप १२ परियोजनाबाट २५१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृत पठाएसँगै सो बराबरको विद्युत् निर्यात गर्न बाटो खुलेको हो । हाल नेपालले भारतमा सात सय मेगावाट विद्युत् निर्यात गरिरहेको छ । 

Advertisement

भारतमा विद्युत् बिक्री गर्न परियोजना नै तोकेर त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृत लिनुपर्छ । सोहीअनुसार प्राधिकरणले त्यहाँबाट उक्त स्वीकृत पाएको छ । 

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक ३९ मेगावाट विद्युत बिक्री गर्न नेपाललाई अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । गत आवमा प्राधिकरणले भारतमा १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् निर्यात गरेको थियो । साथै, गत आवमा नेपाल खुद विद्युत् निर्यातकर्ता पनि बनेको थियो । 

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक विद्युत् निर्यात सुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत विक्री सम्झौता पनि गरिसकेको छ । 

नेपाल र भारतबीच २०८० जेठमा दिर्घकालिन विद्युत् व्यापार सहमती र २०८० पुसमा सम्झौता भएको थियो । त्यस अन्तरगत भारतले १० बर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्नेछ । चालु आव त्यो सम्झौता कार्यान्वयनको पहिलो बर्ष हो, जुन बर्ष झण्डै एक हजार मेगावाट विद्युत् निर्यात हुने देखिएको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने देखिएको छ ।
 

Advertisement

Advertisement