काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ सम्ममा दुई करोड रुपियाँसम्मको व्यक्तिगत घर कर्जा ११.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक बर्षसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
आव २०७९–८० सम्म तीन खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपियाँ यस्तो कर्जा प्रवाह भएको थियो । गत आव २०८०–८१ सम्म आउँदा त्यो तीन खर्ब ८७ अर्ब एक करोड ६१ लाख रुपियाँ पुगेको छ । त्यसअनुसार गत आवमा मात्रै यस्तो कर्जा प्रवाह ३८ अर्ब ८९ करोड ४८ लाख रुपियाँले बढेको देखिन्छ ।
पहिलो पटक घर बनाउने व्यक्तिले बैंकबाट दुई करोड रुपियाँसम्म कर्जा पाउने व्यवस्था छ ।
गत आवमा ‘रियल स्टेट’ कर्जा भने ७.५ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७९–८० सम्म रियल स्टेटमा दुई खर्ब ४९ अर्ब ४४ करोड २१ लाख रुपियाँ कर्जा प्रवाह भएको थियो । गत आवसम्म आउँदा त्यो दुई खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपियाँ पुगेको छ ।
त्यसमा आवासीय घरजग्गामा ७२ अर्ब ५७ करोड २५ लाख रुपियाँ, अर्पाटमेन्टमा ३३ अर्ब २७ करोड १२ लाख रुपियाँ, व्यवसायीक भवनमा नौ अर्ब ४३ करोड २७ लाख रुपियाँ र जग्गा खरिदमा एक खर्ब ५२ अर्ब २८ करोड रुपियाँ कर्जा प्रवाह भएको देखिन्छ ।
दुई करोड रुपियाँसम्मको व्यक्तिगत घर कर्जा र रियल स्टेट लोन गरेर गत आवसम्म छ खर्ब ५५ अर्ब १४ करोड ५० लाख रुपियाँ कर्जा घरजग्गामा प्रवाह भएको देखिन्छ । यो अघिल्लो आवको तुलनामा ९.६३ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म यस्तो कर्जा प्रवाह पाँच खर्ब ९७ अर्ब ५६ करोड ३४ लाख रुपियाँ थियो । गत आवमा यस्तो कर्जा ५७ अर्ब ५८ करोड १६ लाख रुपियाँ थपिएको छ ।
गत आवभरमा बैंक तथा वित्तीय संस्थाहरुले ५१ खर्ब ६७ अर्ब १७ करोड ३० लाख रुपियाँ कर्जा प्रवाह गरेका छन् । कुल कर्जामा घरजग्गामा जाने कर्जाको हिस्सा १३ प्रतिशत छ ।