बैंकमा पैसा थुप्रियो, ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । बजारमा अधिक तरलता थुप्रियसँगै केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

 
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

Advertisement


भदौ १६ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५१ खर्ब ९४ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ६ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) रहेको छ । 


केन्द्रीय बैंकका अनुसार भदौ १६ सम्ममा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा ७८.९४ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका छन् । नियम अनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतसम्म जान पाउछन् ।
तर, बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले चाहेर पनि लगानी बढाउन सकेका छैनन् । यस्तो अवस्थामा सस्तो ब्याजमा नै केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बैंकहरु बाध्य छन् । 


केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ । 
 

Advertisement

Advertisement