कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई पर्यटन विभागले सचेत गरायो, थप कारवाही नगर्ने

Advertisement

काठमाडौं । सगरमाथामा डोरी काटिएको भन्दै सामाजिक सञ्जालमा सूचना प्रवाह गरेको कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई पर्यटन विभागले सचेत गराएको छ । 

विभागले गत साउन २२ गते भविष्यमा आरोहणसँग सम्बन्धित सूचना सम्प्रेषण गर्दा विभागको सहमति र समन्वय लिन निर्देश गरेको हो । गलत सूचना प्रवाह गरेर नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको भन्दै पुर्जासहितका व्यक्ति माथि पर्यटन विभागले छानबिन प्रक्रिया अघि बढाएको थियो । 

Advertisement

पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलका अनुसार पुर्जाले सामाजिक सञ्जालमा सगरमाथामा आरोहणको लागि टाँगिएको डोरी काटिएको बारे पोस्ट गरेकोमा उक्त पोस्ट डिलिट गरेको र त्यसमा आफूले गलत गरेको भन्दै माफी मागेपछि थप कारवाही अघि बढाइने छैन । 

भुजेलले भने, ‘सरकारले उनलाई सचेत गराएको र आइन्दा यस्तो किसिमको काम कारबाही दोहोर्याएमा कडाभन्दा कडा कारबाही गरिने छ ।’ 

‘साथै सरकारले उनलाई एक पटकलाई सचेत गराएको हो । हिमाल आरोहण गर्नबाट र आरोहण अभियान नै संचालन गराउनबाट रोक लगाएको छैन’ उनले भने । हिमालमा भिडियो, फोटो खिच्न पाइन्छ तर भिडियो, फोटो मार्फत गलत सन्देशहरु दिन पाइदैन र गलत सन्देश प्रभाव हुनेगरी अरुलाई भ्रमित गराउनेगरी समाचार, सुचना प्रसार गर्न नपाइने उनले जानकारी दिए ।

पुर्जाले जेठ १३ गते सामाजिक सञ्जाल मार्फत गत वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरी काटिएकाले आरोहणमा समस्या भएको भ्रम फैलाएका थिए । साथै उनले पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नहुँदा फर्किनु परेको भन्ने गलत सामग्री फैलाएको प्रति विभागको ध्यानाकर्षण भएको थियो । 

भुजेलका अनुसार पुर्जाले भनेझैं उक्त स्थानमा टाँगिएको डोरी नकाटिएको र सहज रुपमा पायोनियर एडभेन्चर कम्पनीबाट सगरमाथाको आरोहणको लागि गएका टोलीले सफल आरोहण गरि फर्किएको थियो । विभागले सगरमाथा आरोहणको सिजनको अन्तिम चरण तिर नै विज्ञप्ति जारी गर्दै सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको जानकारी गराएको थियो ।

विभागले छानबीनपछि गरेको निर्णयलाई स्वीकार गर्दै पर्वतारोही निर्मल पुर्जाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारको सत्यको पक्षमा दृढ प्रतिबद्धता र हाम्रो पर्वतीय समुदायको सुरक्षाका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सगरमाथामा डोरी काटिएको घटनाको सन्दर्भमा मैले र मेरा साथी आरोहीहरूले सुरक्षित र पारदर्शी पर्वतारोहण सुनिश्चित गर्न गरेको प्रयासलाई सरकारले साथ दिएको छ । मलाई यो घटनाको छानबिन पश्चात औपचारिक पत्र प्रदान गरिएको छ । म सत्यको समर्थन गर्ने सबै पर्वतारोही साथीहरूलाई नमन गर्दछु, विशेष गरी दुई पटक (दोहोर्याएर) १४ शिखर आरोहण गरेका सानु शेर्पा जस्ता प्रमुख आरोहीहरूप्रति पनि अत्यन्तै आभारी छु ।’

पुर्जाले सबैभन्दा छोटो समयमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा ६ महिना ६ दिनमा यी सबै हिमाल चढ्न सफल भइ कीर्तिमान कायम गरेका थिए । यो कीर्तिमानले उनले अन्तर्राष्ट्रिय जगतमा ख्याती पनि कमाए । यो कीर्तिमानसम्वन्धी डकुमेन्ट्री (वृत्तचित्र) नेटफ्लिक्समा उत्कृष्ठ मध्येमा पर्न सफल पनि भयो । यद्यपि पछि पुर्जाले बनाएको कीर्तिमान नर्वेकी पर्वतारोही क्रिस्टिन हरिला, नेपाली शेर्पा गाइड तेन्जेन लामा (शेर्पा) ले तोडिसकेका छन् । उनीहरुले ९३ दिनमा यी १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन् । 

म्याग्दीमा जन्मेका र हाल बेलायतमा बस्दै आएका निर्मल पुर्जाले १६ वर्ष सैनिक सेवामा बिताएका छन् । उनी छ वर्ष गोर्खा रेजिमेन्टमा र १० वर्ष युके स्पेशल फोर्स ९एसबीएस०मा काम गरेका थिए । उनले युके स्पेशल बोट सर्भिसमा सामेल हुने पहिलो गोर्खा सैनिक पनि बनेका थिए । त्यहाँबाट अवकाश लिएर उनी पर्वतारोहण क्षेत्रमा प्रवेश गरेका थिए ।उनी २०२१ जनवरी १७ मा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु हिउँदमा चढेर नयाँ कीर्तिमान बनाए । सो आरोहण प्रयासमा पुर्जासहित १० जना नेपाली थिए । उनी नाम कमाउनुसँगै पटक पटक विवादमा पनि तानिने गरेका छन् ।  
 

Advertisement