नगरवासीको सामूहिक दुर्घटना बीमा र घरको नक्सा पास गर्दा बीमा अनिवार्य गर्ने मेयर सिंहको प्रतिवद्धता

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज वीरगञ्जमा ‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरवासीको सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

Advertisement

प्रमुख सिंहले महानगरपालिकाको भवनको बीमा गर्नका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्दै बीमा कम्पनीहरूले प्रतिवद्धता जनाएका कुराहरू कार्यान्वयन गर्नुपर्ने बताए । 

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पालिकास्तरमा नै बीमा सम्बन्धी गुनासाहरू राख्न पाउने र समस्या समाधान गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याए । 

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरपालिको केही प्रतिशत बजेट छुट्याएर विपन्न तथा गरीब बर्गको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिए । सिलवालले विद्यालयका पाठ्यक्रममा ‘बीमा’ विषय समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारको विद्यमान अवस्था,  बीमाको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू, अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघसँग अन्तरक्रिया 
यता, बीमा प्राधिकरणको आयोजनामा बुधबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

undefined

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले उद्योगी व्यवसायीहरूले राखेका बीमादर लगायतका समस्याहरूको समाधानका लागि थप अध्ययन आवश्यक भएकाले थप अध्ययन गरी समाधान निकालिने बताए । अध्यक्ष सिलवालले फ्रड क्लेमको समस्या निकै देखिएकाले त्यसको समाधानका लागि निरन्तर कार्य भइरहेको जानकारी दिए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले उद्योगहरूको उद्देश्य र रणनीति फरक फरक हुने भएकाले सबैका लागि एउटै बीमादर हुन नहुने र बीमा कम्पनीहरू पारदर्शी हुनुपर्ने विचार व्यक्त गरे । 

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले बीमा दाबी भुक्तानीमा ढिलाई हने गरेको र कोरोना बीमाको बाँकी दावी भुक्तानी नहुँदा बीमाप्रतिको विश्वास घटेको धारणा राखे । 

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मोटरबीमा निर्देशिका परिमार्जनको क्रममा रहेको र ट्रेडिङ तथा मेनुफेक्चरिङका सम्बन्धमा अध्ययन भइरहेको बताए । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरू र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेकी थिइन् । 

Advertisement