दशैं नजिक आइसक्यो, तर अग्रिम टिकट बुकिङ अन्योलमै, कारण– व्यवसायीको बार्गेनिङ

Advertisement

काठमाडौं । भाडा दर समायोजन (बढाउनुपर्ने) लगायतका व्यवसायीको मागका कारण दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ अझै खुल्न सकेको छैन । 

दशैं आउन अब एक महिना भन्दा पनि कम समय छ । तर, सरकार र यातायात व्यवसायीले अझै पनि अग्रिम टिकट बुकिङ खुलाउने बिषयमा ठोस सहमति गर्न सकेका छैनन् । 

Advertisement

यसपाली दशैं असोज २६ गते छ । घटस्थापना भने असोज १७ गते छ । घटस्थापनादेखि नै दशैं मान्न घर जाने यात्रुहरुको आवात जावात बढी हुन्छ । अन्य समयमा भन्दा त्यो समयमा यात्रुको चाप बढी हुन्छ । 

घटस्थापनापछि काठमाडौं उपत्यकाबाट मात्रै दैनिक एक–दुई लाख मानिस बाहिरिने गर्छन । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न अग्रिम टिकट बुकिङ खुलाउने र त्यसकै आधारमा गाडी व्यवस्थापन गर्नुपर्छ । तर, घटस्थापना आउन करिब तीन साता बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । 

दशैंमा पहिला नै टिकट बुकिङ खुलाउने अभ्यास छ । यो अनिवार्य पनि भइसकेको छ । तर, यसकै बाहनामा व्यवसायीहरुले भाडा दर बढाउनुपर्ने लगायतका माग पनि राख्ने गर्छन् । त्यो पूरा नभएसम्म व्यवसायीहरु बुकिङ खुलाउँदैनन् । यसपाली पनि व्यवसायीहरुले भाडा दर बढाउनुपर्ने लगायतका माग राखेका छन् । 

तर, त्यसमा ठोस सहमति भइसकेको छैन । त्यसले गर्दा यसबारे निर्णय भइनसकेको यातायात व्यवस्था बिभागका एक उच्च अधिकारीले बताए । भाडा दर पनि पछिल्ला बर्षहरुमा समायोजन भएको छैन । त्यसले गर्दा व्यवसायीहरुको माग पनि जायज देखिएको छ । साथै, दशैंको बेलामा भाडादर बढाउँदा पनि यात्रुहरु मर्कामा पर्छन् । यस्ता वस्तुस्थितिलाई दृष्टिगत गर्दै निर्णय गर्ने यातायाता व्यवस्था विभागको तयारी छ । 

स्रोतका अनुसार आगामी असोज २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायी र विभागका अधिकारीहरुबीच छलफल छ । त्यही बैठकबाट यसबारे निर्णय गरिने मन्त्रालयका एक उच्च अधिकारीले बताए । ढिलोमा पनि घटस्थापनाको एक साताअघि अर्थात् असोज १० गतेबाट बुकिङ खुला गर्ने उक्त अधिकारीले बताए ।

Advertisement