दसैंको अग्रिम टिकट बुकिङ बन्यो अनिश्चित–पहिला सडक सुधार गर्न यातायात व्यवसायीको माग

Advertisement

काठमाडौं । दसैंतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग अनिश्चित बनेको छ । अग्रिम टिकट बुकिङ्ग खोल्ने सन्दर्भमा बुधबार सिंहदरबारमा बसेको सरोकारवाला निकाय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिन पुगेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको आह्वानमा बुधबार मन्त्रालयमा सरोकारवाला निकाय तथा व्यक्तित्वहरु छलफलमा बसेका थिए । तर, बैठकमा सडक सुरक्षा तथा सडक स्तरोन्नती पहिलो सर्त रहेको भन्दै पहिला राज्यले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने माग यातायात व्यवसायीहरुले राखेका छन् । 

Advertisement

‘गृह मन्त्रालयले जारी गरेको १२ बुँदे सडक सुरक्षा सम्बन्धी व्यवस्था पहिला कार्यान्वयन गर्नुपर्यो । सडक दुर्घटना न्यूनिकरण गर्नेगरी सरकारले पहिला योजना पेश गर्नुपर्यो अनि हामी अग्रिम टिकट बुकिङ खुल्ला गर्न तयार हुन्छौं’ यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यविक्रम सिटौला (सरोज) ले कर्पोरेट नेपालसँग बताए । 

सडक दुर्घटना मात्र भन्ने तर कुन सेग्मेन्टका सवारी साधनबाट दुर्घटनाको जोखिम बढेको हो ? कुन सेग्मेन्टका सवारीलाई सुरक्षित बनाइनुपर्ने हो सो भने राज्यले नगर्ने हुँदा समस्या आइरहेको उनले बताए । खासगरी सडक सुरक्षाका दृष्टिकोणले बढी जोखिममा रहने दुई पाङ्ग्रे सवारीदेखि साना १५ देखि २०–२२ सिटे साना माइक्रो बसलाई व्यवस्थित गर्नुपर्ने माग यातायात व्यवसायीहले राखेका छन् । 

दसैंतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वमा गाउँ जाने यात्रुहरुको सहजता र सुरक्षाका लागि यातायात व्यवसायीहरु पूर्ण रुपमा जिम्मेवार रहेको बताउँदै सिटौलाले पहिला सरकारले सडक सञ्जाललाई सुरक्षित बनाउन लाग्नुपर्ने बताए । अग्रिम टिकट खोल्ने मुद्दामा व्यवसायीहरु तयार नै रहेको बताउँदै उनले अनलाइन टिकटिङको सुविधाका लागि गृहकार्य भइरहेको बताए ।

‘अग्रिम टिकट बुकिङ खुला गर्ने विषय त्यति ठूलो होइन, महत्वपूर्ण कुरा सडक सुरक्षा हो । हामीले सरकारलाई यहीँ भनेका छौं । यस विषयमा मन्त्री ज्यू पनि सकारात्मक हुनुहुन्छ । देशैभरीका सडक सञ्जाललाई सुरक्षित र भरपर्दो बनाउने सवालमा मन्त्री ज्यूले सम्बन्धित विभागलाई सडक सुधारमा ध्यान दिन निर्देशन दिइसक्नु भएको छ । अग्रिम टिकट बुकिङ खोल्ने सन्दर्भमा पुनः अर्को बैठकबाट टुंग्याउनेगरी आजलाई स्थगित भएको छ’ सिटौलाले कर्पोरेट नेपालसँग भने । 

Advertisement