काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंतिहारका लागि नयाँ नोट नछापिएको बारे स्पष्ट पारेको छ । मंगलबार एक सार्वजनिक सूचनामूलक सन्देश जारी गरेको बैंकले सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको जनाएको हो ।
'सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्धारा स्वास्थ्यमा हुने जोखिम समेत न्यूनिकरण गर्न सकिन्छ । नोटहरु जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भार समेत कम हुन्छ । नोट हाम्रो सभ्यताको पहिचान पनि भएकोले यसलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो’ बैंकले बताएको छ ।
दशैंमा देवीको प्रसादको रुपमा टीका, जमरासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दा सचेतनासहित नोटको सुरक्षामा ध्यान दिन भन्दै केन्द्रीय बैंकले नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपुर्वक प्रयोग गर्न समेत सबैमा अनुरोध गरेको छ ।