काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले भौतिक पूर्वाधारको बीमामार्फत सुरक्षण गर्नुपर्ने बताएका छन् । हालैमात्र आएको अविल वर्षासँगै गएको बाढी पहिरोका कारण देशभरका सयौं भौतिक पूर्वाधारमा क्षति पुर्याएको भन्दै आध्यक्ष सिलवालले यस्तो क्षतिको सुरक्षणका लागि सरकारले पनि बीमा गर्नुपर्ने बताए ।
हालैको बाढी तथा पहिरोबाट कृषिक्षेत्र बाहेक सडक र पुलमा मात्रै २७ अर्ब रूपियाँभन्दा बढी क्षति भएको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘सरकारले पूर्वाधारमा लगानी मात्र गर्ने होइन, बीमा मार्फत लगानीको सुरक्षण समेत गर्नु आवश्यक छ । क्षति भएका स्थानमा नयाँ सडक तथा पुल बनाउनुपर्ने हुन्छ, बीमा नगरेका कारण तिनको निर्माणमा सरकारले थप लगानी गर्नुपर्ने हुन्छ । यसलाई ध्यानमा राखेर सबै संरचनाको बीमा गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक छ’ अध्यक्ष सिलवालले भने ।
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष सिलवालले बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
बाढी तथा पहिरोबाट जनधनको ठूलो क्षति भएकोमा क्षतिको बीमा दाबी आउँदा समयमा नै भुक्तानी दिएर सहयोग गर्न अध्यक्ष सिलवाले बीमा कम्पनीहरूलाई आग्रह गरे ।
आफूलाई स्थापित गर्ने र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भन्ने प्रमाणित गर्ने बेला पनि यहीँ रहेको बताउँदै अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले अहिलेको चुनौतीलाई अवसरको रूपमा परिणत गर्ने र नागरिकहरुको बीमाप्रतिको विश्वास बढाउने काम गर्नुपर्ने बताए ।
अध्यक्ष सिलवालले जलवायु परिवर्तनको असर बढी पर्ने देशमा नेपाल पनि रहेकाले सरकारको नीति तथा रणनीतिमा बीमा समावेश गरी बीमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने जोड दिए ।
बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरू परम्परागत रूपमा नभई नयाँ संस्करणका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।