काठमाडौं । असोज ११ र १२ गते देशभर परेको भारी वर्षाले निम्त्याएको बाढीपहिरोबाट पीडितलाई एनसेल फाउन्डेसनले राहत प्याकेज वितरण गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका पीडितलाई सोमबार सो संस्थाले सहयोग गरेको हो ।
फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३०)का करिब दुई सय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको जानकारी दिएको छ । राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाँडाकुँडा, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामान छन् ।
यी सामग्रीले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने एनसेलको विश्वास छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा प्रभावित क्षेत्रमा पुगेर पीडित परिवार लाई राहत सामग्री हस्तान्तरण गरिएको थियो ।