काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकाश (रिटायर्ड) पाएका राजुरमण पौडल यतिबेला घरायसी काममा व्यस्त छन् ।
उनी गएको जेठ १२ गते कार्यकारी निर्देशक पदबाट अवकाश भएका थिए । त्यसपछि पौडेल घरायसी काममा व्यस्त छन् । परिवारसँग समय बिताउने, पुस्तक र लेखहरु पढ्ने उनको दिनचर्या बनेको छ ।
देशको वर्तमान आर्थिक तथा राजनीतक अवस्थाबारे पौडेलले जानकारी लिने गर्छन । सँगसँगै उनी बीमा क्षेत्रमै कुनै नयाँ भूमिकामा फर्किने योजनामा पनि छन् ।तीस बर्ष बीमा क्षेत्रमा बिताएका पौडेल अझ केही समय घर परिवारलाई दिएर बीमा क्षेत्रमा कुनै भूमिकामा फर्किने योजनामा छन् ।
‘लामो समय जागिरमै व्यस्त भइयो । त्यसले गर्दा परिवारलाई राम्रोसँग समय दिन सकेको थिइन । अब केही समय परिवारसँग नै आरामसँग समय बिताउन चाहान्छु,’ कर्पोरेट नेपालसँग उनले भने, ‘त्यसपछि बीमा क्षेत्रमै फर्किएर केही न केही काम गर्ने सोचमा छु ।’
पौडेल २०७६ बैशाख ९ मा तत्कालिन बीमा समितिमा निर्देशकबाट कार्यकारी निर्देशकमा पदोन्नती भएका थिए । कार्यकारी निर्देशको कार्यकाल पाँच बर्षको हुने व्यवस्था छ । उमेरले बल्ल ५५ बर्ष भएका उनलाई केही बीमा क्षेत्रमा केही गर्ने इच्छा छ ।
पौडेल भन्छन्, ‘बीमा क्षेत्रमा तीस बर्ष काम गरियो । अनुभव र ज्ञान हासिल गरियो । अझै पनि यो क्षेत्रमा काम गर्ने इच्छा छ । बीमा क्षेत्रमा अबका दिनमा के गर्न सकिन्छ ? के गर्न आवश्यक छ भन्ने बिषयमा पनि अध्ययन गर्ने तथा योजना बनाउने काम पनि भइरहेको छ । केही समयपछि कुनै न कुनै भूमिकामा बीमा क्षेत्रमा फर्किन्छु ।’
बीमा समिति (हालको प्राधिकरण) २०२५ सालमा अर्थ मन्त्रालयको शाखाको रुपमा स्थापना भएको थियो । त्यसबेला सिंहदरबारस्थित अर्थ मन्त्रालयकै कार्यालयमा समितिको लागि दुई वटा कोठा छुट्टाइएको थियो । २०४९ सालमा बीमा ऐन आएपछि समिति स्वायत्त बन्यो । त्यपछि २०५०–५१ ताका समितिको कार्यालय सिंहरबारबाट भृकुटीमण्डपस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा सारियो, जहाँ समितिले कार्यालयको भाडा तिर्ने गर्थ्यो ।
सोही बेला (२०५१) पौडेल लेखा अधिकृतको रुपमा बीमा समितिमा छिरेका थिए । त्यसपछि सहायक निर्देशक, उप निर्देशक, निर्देशक हुँदै कार्यकारी निर्देशक भएका उनले प्राधिकरणको संस्थागत विकासमा विशेष भूमिका खेलेका थिए । हाल ललितपुरको कुपण्डोलमा निर्मित प्राधिकरणको आफ्नै कार्यालय भवन निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
यसअघि प्राधिकरणको कार्यालय पहिला चावहिलमा थियो । चावहिलमा रहेको आफ्नै भवन बनाउन पनि पौडेलको विशेष सक्रियता छ । २०५८ सालमा भृकुटीमण्डपबाट चाबहिलमा रहेको भवनमा सरेको प्राधिकरण २०७२ सालमा कुपण्डोल सरेको थियो । प्राधिकरणको चावहिलको भवनमा अहिले करदाता सेवा कार्यालय बसेको छ ।
अहिले कुपण्डोलमा एक अर्ब रुपियाँ लागतमा प्राधिकरणको सुविधा सम्पन्न भवन बन्दैछ । निर्माणको अन्तिम चरणमा रहेको उक्त भवन निर्माणमा पनि पौडेलको योगदान धैरै छ ।
यसैगरि बीमासम्बन्धी चेतना बढाउने, स्थानीय तहमा गएर बीमासम्बन्धी अन्तरक्रिया गर्ने, कृषि बीमाको अवधारणा विकास गर्ने, बीमा पहुँच बढाउने, बीमा क्षेत्रको विकास गर्ने लगायतका बिषयमा उनको पनि योगदान छ । बीमा क्षेत्रमा उनी एक प्रिय पात्रका रुपमा पनि चिनिन्छन् ।
२०५१ साल तिर नेपालमा बीमाको पहुँच कति थियो ? यकिन तथ्यांक छैन । त्यसबेला बीमा कम्पनीको संख्या पनि कम थियो । २०७२ अघि नेपालमा बीमाको पहुँच ७–८ प्रतिशत मात्रै थियो । पौडेल अवकाश हुँदा बीमाको पहुँच ४३ प्रतिशत हाराहारी थियो । त्योअनुसार पहुँच बढाउने बिषयमा पौडेलको पनि योगदान देखिन्छ । उनी कार्यकारी निर्देशक हुँदा स्थानीय तहमै गएर बीमा सम्बन्धी अन्तरक्रिया गराएका थिए ।
श्रीमती, छोरी र छोरासहित चार सदस्यीय परिवार रहेको पौडेलको छोरा सूचना प्रविधि क्षेत्रमा आवद्ध छन् भने छोरी चिकित्सा क्षेत्रमा । श्रीमती बीमा क्षेत्रमा नै सक्रिय छिन् । पुर्ख्यौली घर गोरखा रहेको उनी २०५१ सालमा राजधानीको म्हैपीमा घर बनाएर यहींको बासिन्दा बनेका छन् ।