काठमाडौं । अत्याधिक वर्षा पश्चात राजमार्ग तथा सहायक राजमार्गहरु क्षतिग्रत भएर सडक यातायात अवरुद्धको अवस्थामा सम्भव भएसम्म सरलीकरण गरी हवाई यातायात सेवा निरन्तर सञ्चालन गरी रहेको नागरिक उड्डायत प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले उक्त कुरा बताएका हुन् ।
प्राधिकरणको मातहतमा सञ्चालित नेपालमा भएका कुल ५५ वटा विमानस्थल मध्ये अधिकांश विमानस्थल उडान संचालन योग्य रहेको तर उडान गर्ने वायुयानको अभावमा नियमित उडान हुन नसकेको उनले बताए ।
यही कुरालाई मध्यनजर गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालीहरुको विशेष चाड विजयादशमीको अवधिभर रात्रीकालीन उडान हुने विमानस्थलको सञ्चालन समय बिहान ६ः०० बजेको सट्टा डेढ घण्टा अघावै ०४ः३० बजेदेखि नै सुरु हुने निर्णय गरेको उल्लेख गरे ।
विगतका वर्षहरुमा झै मुख्य चाडपर्वको सिजनमा करिब १५ प्रतिशत आन्तरिक हवाई यात्रुको संख्यामा बढोत्तरी हुने गरेकोमा यो वर्ष त्यसका अतिरिक्त प्राकृतिक विपत्तिको रुपमा आएको बाढी र पहिरोको कारण सडक यातायात अवरुद्ध भएकोले थप करिब २० प्रतिशत गरी नियमित भन्दा करिब ३५ प्रतिशत हवाई यात्रु र उडान संख्यामा वृद्धि भएको उनले जानकारी दिए ।
साथै, बाढी पहिरो पश्चात्को असामान्य अवस्था तथा राष्ट्रिय चाडपर्वको सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भईरहेको उडान चाप न्यूनीकरण गर्न गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई प्राधिकरण विशेष अनुरोध गरिएको प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेयले जानकारी दिए ।