माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

Advertisement

धरान । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् ।  

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए । 

Advertisement

‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो,’ उनले भने, ‘पुर्ख्यौली पेसा हो अहिले पनि यही भाडाँ बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।’

इनरुवामा उनको माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाएका भाडाँ इटहरी लिएर बेच्छन् । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले सुनाए । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए ।  

‘जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै  राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ,’ उनले भने, ‘एक गाडी माटोले १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।’

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए । 

‘पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ,’ उनले भने ।

पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । आफूले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतु्रके, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उनको भनाइ छ । ‘एक÷दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन, घर खर्चका लागि कमाउन त्यति धेरै गाह्रो हुन्न,’ पण्डितले भने । 

हाल एउटा पैनी रु छ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छ भने गमला रु ३० रुपैयाँदेखि रु आठ सयसम्म बिक्री हुने गरेको छ । साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा रु २० रुपैयाँदेखि लिएर रु एक हजारसम्ममा बिक्री हुने गरेको उनले बताए । ‘अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ,’ पण्डितले भने । 

इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन् । उनले विगत दुई वर्षदेखि माटोको भाँडाकँुडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताए । 

‘माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ,’ काफ्लेले भने, ‘इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक रु ३० हजारसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।’

Advertisement

Advertisement