बंगलादेशमा पश्चिमा समर्थनमा नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी

Advertisement

काठमाडौं । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पश्चिमा समर्थनमा नयाँ सरकार बनेसँगै हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

उक्त अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

Advertisement

विद्यार्थीहरुको नाममा भएको हिंसात्मक आन्दोलनपछि सेनाको दबाबमा हसिनाले राजीनामा दिएर गत अगस्टमा भारत पलायन भएकी थिइन् । उनले अमेरिकी स्वार्थअनुसार काम नगरेकाले आफूविरुद्ध षडयन्त्र भएको आरोप लगाएकी छन् । 

हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लङ्घन, राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्ने र गैरन्यायिक हत्याहरू गर्नेजस्ता काम भएको आरोप हसिना प्रशासनलाई लागेको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)का मुख्य अभियोजक इस्लामले पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र नोभेम्बर १८ मा अदालतमा पेश गर्न अदालतले आदेश दिएको बताए ।

जुलाईदेखि अगस्टसम्म नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालिन प्रशासन र यसको कार्यकारी प्रधानमन्त्री हसिनाले गरेका र उनीसहित अन्य अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक भएकाले पक्राउ पूर्जी जारी गरिएको इस्लामले बताए । 

हसिनाको शासन ढलेपछि उनका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको छ । उनलाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा सात सय भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । त्यस घटनामा प्रहरी कारबाहीका लागि हसिनालाई दोषी ठहर गरिएको छ ।
 

Advertisement

Advertisement