काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् प्रयोग गरी महसुल नतिर्ने उद्योगीलाई बक्यौता तिर्न दिएको अल्टिमेटम आज सकिँदै छ ।
यही विषयमा छलफल गर्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान ९ बजे बोलाइएको छ ।
बैठकमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमाबारे छलफल हुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरणले २४ असोजमा डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुनबमोजिम असुल उपर गर्ने चेतावनी दिएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ । तर केही उद्योगीले बिजुलीको महसुल तिर्न अटेर गर्दै आएका छन् ।