अमा दब्लम र हिमलुङ हिमालका लागि सबैभन्दा धेरैले लिए आरोहण अनुमति
फाइल तस्बिर

Advertisement

काठमाडौं । शरद ऋतुका लागि अमा दब्लम र हिमलुङ हिमालका लागि धेरै आरोहीहरुले आरोहण अनुमति लिएका छन् । 

२०२३ को शरद ऋतुको तुलनामा यस पटकको शरद ऋतुका लागि हिमलुङ हिमालका लागि धेरै आरोहीहरुले आरोहण अनुमति लिएका हुन् । गत वर्षको शरद ऋतुमा पर्यटन विभागबाट आरोहीहरुले हिमलुङ हिमालका लागि एक सय २५ जनाले आरोहण अनुमति लिएका थिए भने यस वर्ष उक्त हिमाल आरोहणका लागि एक सय ४४ जनाले आरोहण अनुमति लिइसकेका पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए । 

Advertisement

गत वर्ष अमा दब्लम हिमालका लागि चार सय ९ जनाले आरोहण अनुमति लिएका थिए भने यस वर्ष तीन सय ५९ जनाले आरोहण अनुमति लिइसकेका र अझ थप आरोहीहरुले आरोहण अनुमति लिने आरोहण कम्पनीहरुका संचालकहरु बताउँछन् ।

अमा दब्लम र हिमलुङ हिमालसहित यस सिजनमा ४१ वटा हिमाल आरोहणका लागि अनुमति लिएको गुरुङले बताए । 

निर्देशक गुरुङका अनुसार शरद ऋतुका लागि मनास्लु, पुथा हिउचुली, अन्नपूर्ण–४, ठकर गो इस्ट, धौलागिरी, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, एपीआई, मकालु, चोयु, नीलगिरि उत्तर, थापा पिक, चाँदी हिमाल, थोरंग पीक,  थोरंग पीक , स्याङ्क्चुरी पीक, टुकुचे पीक,  बारुन से,  लाङटाङ लिरुङ, पन्द्र, सारिबुङ, सारिबुङ, काङफु, गाटन कान्ता, बेडिङ गो, फोले, भैरव, नेम्जुङ, तख्फु उत्तर, मुकुट हिमाल, चमर, लाङडाक, बिजोरा हिउँ चुली, फुर्वी च्याचु, जित्जाङ, शार्फु, यालुङ रि, टेङकोमा, शेरसन, छोपाबामरे गरी ४१ वटा हिमालहरुका लागि आरोहण अनुमति दिइएको छ । 

ती हिमाल आरोहणको लागि ८ सय ७४ जना पुरुष र दुई सय ६१ जना महिला गरी एक हजार एक सय ३५ जनाले आरोहणको लागि अनुमति लिएको उनले जानकारी दिए । एक हजार एक सय ३५ जनाबाट सरकारले ७ करोड ५७ लाख ९७ हजार ८ सय ४९​ रुपियाँ संकलन गरेको छ । गत वर्षको सिजनमा एक हजार एक सय ८५ जनाबाट सरकारले ७ करोड ३० लाख ३९ हजार १६ रुपियाँ संकलन गरेको थियो । 

Advertisement

Advertisement