काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सिस्टममा लग इन गरी उक्त प्ल्याटफर्मको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधि, बीमक समिति नेपाल लाइफका पदाधिकारीहरूको उपस्थिति थियो । सीईओ पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालको युवा जनशक्तिको महत्वपूणर् हिस्सालाई उद्यमशीलतामा लगानी गर्न सके देशको आर्थिक विकास सहज हुने बताए । उनले भूमण्डलीकरणको प्रभावले विश्व एक डिजिटल डिभाइसमा सीमित बनेको उल्लेख गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न युवाहरूलाई डिजिटल प्रविधिको सदुपयोग गर्न आग्रह गरे ।
नेपाल लाइफले लर्निङ म्यानेजमेन्ट सिस्टममार्फत बीमा अभिकर्ताहरूको तालिम घरै बसीबसी लिन सकिने सुविधा दिएको छ । पराजुलीले हालका लागि नेपाल बीमा प्राधिकरणद्वारा तर्जुमा गरिएको पाठ्यक्रमको आधारमा श्रव्य दृश्य सामग्रीमार्फत अभिकर्ताको आधारभूत तालिम सञ्चालन गरिएको र भविष्यमा कर्मचारीहरूको सीप अभिवृद्धिका लागि पनि कार्यक्रम ल्याइने जानकारी दिए । साथै, बीमा नवीकरण शुल्क भुक्तानी र बिमा योजना अन्तर्गत कर्जाको भुक्तानीका लागि कम्पनीले ल्याएको डाइनामिक क्यूआरको प्रयोग गरेर घरमै बसेर भुक्तानी गर्न पनि आग्रह गरे ।
नायब महाप्रबन्धक उमापति पोखरेलले भौतिक तालिमको आवश्यकता घटाउँदै प्ल्याटफर्मले बीमा अभिकर्ता बन्न चाहनेलाई आफ्नो अनुकूल समयमा तालिम लिन सहज बनाएको उल्लेख गरे । उनले नेपाल लाइफलाई यस्तो प्रविधिमैत्री प्ल्याटफर्म विकास गर्ने पहिलो कम्पनी भएकोमा गर्व लागेको बताए ।
तालिम विभाग प्रमुख रोजेश बस्नेतले प्ल्याटफर्मको उपयोगिता र प्रयोगका विधिहरू प्रस्तुत गरे भने सूचना प्रविधि विभाग प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्यूआरको प्रयोगबारे प्रष्ट्याए । बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले तालिम प्रक्रियालाई सहज बनाउने नेपाल लाइफको प्रयासको प्रशंसा गर्दै भविष्यमा पनि प्रविधिमैत्री काममा अग्रसरता रहने विश्वास व्यक्त गरे ।
पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले दुई दशकअघिको स्थिति सम्झँदै अहिले घरैबाट तालिम लिन सक्ने अवसर सिर्जना गरेकोमा नेपाल लाइफको प्रशंसा गरे ।
समापन मन्तव्यमा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यस प्रणालीको विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैलाई धन्यवाद दिए । उनले प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै कम्पनीलाई अगाडि बढाउन निरन्तर प्रयासरत रहेको बताए ।