काठमाडौं । अमेरिकाका दोस्रो पटक निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी आप्रवासी कामदारलाई फर्काउने आफ्नो घोषणा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले अब ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता हुने बताए । जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा आप्रवासीहरु फिर्ता हुने बताउँदै ट्रम्पले सीमा नाकाहरुमा कडाई गर्ने पनि बताए ।
ट्रम्पले भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई फिर्ता पठाउने योजना कार्यान्वयनको विकल्प छैन । सीमा नाकाहरुलाई पनि कडाई गरिने छ ।’ उनको चुनावी घोषणामा लाखौं अवैध आप्रवासीहरु अमेरिकामा बसेको बताउँदै उनीहरुलाई फिर्ता गर्नुको विकल्प नरहेको बताएका थिए ।
आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा आफू विजयी भएको बताउँदै ट्रम्पले आफ्ना एजेण्डाले धेरै मतदातालाई आकर्षित गरेको बताए । उनले भने, ‘तपाइँलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाइँ अमेरिका आउन सक्नुहुन्न भनोस् । हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं । जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् । किनकि उनीहरू यहाँ बस्ने छैनन् ।’
डेमाक्राट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई हराउँदै रिपब्लिकन पार्टीका ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।