देउवाले मंसिरभित्रै सबै निर्वाचन गर्ने महतको दावी

Advertisement

काठमाडौंः कांग्रेसका एक नेता प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न हुने दावी गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र दुवै निर्वाचन गर्ने दावी गरे ।

महतले भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ भनेर सरकारले गृहकार्य सुरु गरिरहेको छ ।’ महतले एकै चरणमा निर्वाचन गर्दा पार्टीले उम्मेद्धवारलाई टिकट दिन पनि सहज हुने जिकिर गरे ।

संविधान कार्यान्वयन गर्नको लागि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको उनले दावी गरे । महतले दुई पार्टीबीचको तालमेल भनेको लोकतन्त्रलाई संस्थागत गर्न र विधिको बाटोमा मुलुकलाई हिँडाउनको लागि भएको तर्कसमेत गरे ।

उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन पनि एकै चरणमा गर्ने सरकारको उद्देश्य भए पनि राजपाको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणको लागि सारिएको जिकिर गर्दै राजपाले आफूहरुसँग एउटा सहमति गरेको र बाहिर आएर सहमति मान्दिन भनेको आरोप लगाए ।

महतले अहिले देशमा लगानीको राम्रो वाताबरण बनेको दावीसमेत गरे । उनले भने, ‘देश राजनितीक रुपमा रुमलिए पनि अबको समय भनेको आर्थिक समृद्धितर्फ लाग्नुपर्ने बेला हो, मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउनको लागि हामी केन्द्रित हुनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement