आपूर्ति मन्त्रीको पहिलो निशानामा दरबारमार्गका खान्दानी पसल, चार हजारको जुत्ता २७ हजारमा बिक्री

Advertisement

काठमाडौंः आपूर्ति मन्त्रालयले बजार अनुगमनको पहिलो निशाना नै दरबारमार्गका खानदानी पसलहरुलाई बनाएका छन् । उनले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल सोमबार शिलबन्दी गरे ।

मण्डलको नेतृत्वमा सोमबार गरिएको आकस्मिक अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि ती पसलहरु बन्द शिलबन्दी गरिएको जनाइएको छ । दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाईक पसल मन्त्रीको निशानामा परेका हुन । यिनीहरुलाई यसअघि कुनै मन्त्रीले छोएका थिएनन् ।

यी पसलहरुको बिल बिजक नभएको, ओभर बिलिङ गरेको, वास्तविक मूल्यमा अत्यधिक बृद्धि गरी दशैं छुट गरेको भेटिएकाले शिलबन्दी गरिएको आपूर्तिमन्त्री मण्डलले बताए । नाइकले चार हजार सात सयको खरीद बिलको जुत्ता २६ हजार ९९० रुपियाँँमा बिक्री गरेको, दुई हजार छ सयको सामान २६ हजार रुपियाँँमा बिक्री गरेको फेला परेको थियो ।

नर्थ फेसमा १३ हजारको सामान बेचेर चार हजारको मात्रै बिल काटेको भेटिएको थियो । खरीद र बिक्री मूल्यमा धेरै अन्तर राखेको उक्त पसललाई सबै कारोबारको कागजात सहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ताले महंगो सामान बाध्यात्मक तरिकाले किन्नुपर्ने र जनताका समस्याभन्दा पनि व्यवसायीको मनपरी भएकोले समाजमा विकृति ल्याएको भन्दै मण्डलले व्यवसायी र उपभोक्ताको बीचमा समन्वय गरी जनता ठगिने कार्यलाई नियन्त्रण गरिने बताए ।

उनले निर्दोष व्यवसायीलाई अनुगमनको नाममा दुःख दिने र व्यवसायमा कुनै दखल दिने काम नहुने भन्दै तर दोषीलाई कुनै पनि प्रकारको क्षमायचना नगरिने बताए । दरबारमार्गसंगै कमलादीको सिटी सेण्टर, ठमेलको नर्थ फेस, नक्सालको भाटभनेटीमा पनि आपूर्ति विभागले अनुगमन गरेको छ ।

कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भए पनि पसलहरुले अत्यधिक नाफा खाने गरेको भेटिएकोले उनीहरुलाई कालोबजारी ऐन अनुसार कार्वाही गरिने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताए ।

Advertisement

Advertisement

Advertisement