वामपन्थी एकता सेयर बजारले स्वीकारेन, नेप्सेमा दोहोरो अंकको भारी गिरावट

Advertisement

काठमाडौंः ठूला वामपन्थी दलहरु एक हुने घोषणा गरेको भोलिपल्ट बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । सेयर बजार परिसुचक नेप्से दोहोरो अंक अर्थात १३ दशमलव ७० अंकले झरेर एक हजार ५४२ दशमलव ६५ अंकमा सीमित भएको छ भने कारोबार रकम २८ करोड पुग्न सकेन ।

मंगलबार छ दशमलव ८९ अंकले उक्लिएको नेप्से आज झर्नुमा पछिल्लो राजनीतिक प्रभाव प्रमुख कारक रहेको विश्लेषकहरुको भनाई छ । मंगलबारको सुधारले सेयर बजारमा सुधारको लक्षण देखेका सर्वसाधारण लगानीकर्ता आजको भारी गिरावटले निराश भएका छन् ।

दशैंका कारण मंगलबार १४ करोड रुपियाँभन्दा माथि उक्दिन नसकेको सेयर कारोबार भने भने सामान्य वृद्धि भई २७ करोड ९७ लाख रुपियाँको सेयर किनबेच भएको छ । मंगलबार सबै समूहमा सकारात्मक सुधार देखिएकोमा आज अधिकांशसमूहमा गिरावट देखिएको छ ।

सबैभन्दा बढि गिरावट व्यापार समूहमा एक दशमलव ६३ प्रतिशत रहेको छ भने त्यसपछि क्रमसः जलविद्युतमा एक दशमलव ४८ प्रतिशत, बाणिज्य बैंक समूहमा एक दशमलव २९ प्रतिशत, विकास बैंकमा एक दशमलव १८ प्रतिशतको गिरावट रहेको छ । वित्त र बीमा समूहको गिरावट एक प्रतिशतभन्दा कम छ भने उत्पादनमूलक र होटल समूहमा समान्य सुधार देखिएको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको कारोबार एक करोड ८२ लाख मात्रै छ भने नाफा गर्नेमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् । उनीहरुको सेयर छ प्रतिशतले बढेको छ । घाटा खानेमा नेरुडु लघुवित्त विकास बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement