मुक्तिनाथको २१ प्रतिशत लाभांश प्रस्ताव आज पारित हुँदै

Advertisement

काठमाडौं: मुक्तिनाथ विकास बैंकको आज सुरु भएको साधारण सभाले २० प्रतिशत बोनस सेयर प्रस्ताव पारित गर्ने छ । सभा अहिले पोखरास्थित होटल पोखरा ग्र्याण्ड पार्टीमा ११ बजेबाट सुरु भएको छ ।

कर प्रयोजनार्थ बैंकले १ दसमलव ०५ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गर्दैछ ।

बैंकले बोनस सेयरमा ४३ करोड १९ लाख ६० हजार ५५३ रुपियाँ र नगद लाभांशका लागि २ करोड २७ लाख ३४ हजार ७६६ रुपियाँ खर्च गर्नेछ ।

यस्तै, आजकै सभाले अधिकृत पुँजी ३ अर्ब रुपियाँ र चुक्ता पुँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपियाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन प्रस्ताव पास गर्नेछ ।

बैंकले यसअघि ४० प्रतिशत हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि लाभांश पाउने जनाइसकेको छ ।

बैंकले भदौ ४ देखि असोज ८ गतेसम्म १०ः४ अनुपातमा ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सभामा बैंकले २०७३/७४ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा अन्य हिसाब सम्बन्धी प्रस्तावहरु पनि पेश गर्नेछ ।

हकप्रद र लिलामी सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपियाँ पुगेको छ । २० % बोनसपछि भने चुक्ता पुँजी २ अर्ब ५० करोड १७ लाख ६३ हजार ३१७ रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement