काठमाडौंः पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड तथा नेपाल वायु सेवा निगमको संयोजनमा सात वटा निजी पर्यटन व्यवसायीसहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एसियामा सहभागिता जनाएको छ ।
विश्वभरका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संलग्न सबै सरोकारवालाहरुलार्इ एउटै छातामुनी भेलागरी दिगो साहसिक पर्यटनको अवधारणालार्इ प्रवर्धन गर्ने उद्देश्यले आयोजित एक्स्पोमा नेपालबाट हिमालयन होलिडेज ट्रेकिङ, इन्सेन्टिभ होलिडेज, एड्भेन्चर आउटडोर ट्रेक्स एण्ड एक्स्पेडिसन, हाइग्राउन्ड एड्भेन्चर नेपाल, हिमालयन कैलाश ट्राभल एण्ड टुर्स, एवेरेस्ट समिट लजेज र नेपाल सेन्चुरी ट्रेक्स गरी सात निजी पर्यटन कम्पनीहरुले सहभागिता जनाए ।
कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले नेपाल, द अल्टिमेट एड्भेन्चर डेस्टिनेशन शीर्षकमा प्रस्तुति गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताए । उनले दिगो एड्भेन्चर टुरिज्म विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा सबै सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने बताए ।
त्यसैगरी, नदी संरक्षण अभियन्ता मेघ आलेले नेपालमा नदी संरक्षण अभियान तथा दिगो पर्यटन विकासका लागि नदी संरक्षणको आवश्यकताबारे प्रस्तुति दिए ।
दिगो साहसिक पर्यटन विकासमा योगदान पुर्याएको भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्य, हिमालयन होलिडेजका विभुतिचन्द ठाकुर तथा नेपाल रिभर कन्जरभेसन ट्रस्टका मेघ आलेलार्इ अवार्ड प्रदान गरिएको थियो ।