सात महिनापछि शिशापाङ हिमपहिरोमा मृत्यु भएकाहरुलाई नेपाल ल्याउन दिन चीन तयार

Advertisement

काठमाडौं । गएको असोज २० तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा मृत्यु भएका दुई जना आरोहीहरुलाई नेपाल ल्याउन दिन चीन तयार भएको छ । 

चीनले सात महिना बितेपछि बल्ल उनीहरुको उद्दारका लागि बाटो खोलिदिएको हो । उक्त हिमपहिरोमा नेपालका कीर्तिमानी आरोहीसहित दुई जना अझै बेपत्ता छन् । मृत अवस्थामा भेटिएका दुई जनाको शब मात्रै नेपाल ल्याउन दिन चीन सहमत भएको हो । 

Advertisement

शिशापाङ विश्वको १४औं अग्लो हिमश्रृंखलामा पर्छ । हिमपहिरोमा परी अमेरिकी महिला आरोही अन्ना गुटु र शेर्पा गाइड मिङमार शेर्पाको मृत्यु भएको थियो । बेपत्ता रहेका अमेरिकी महिला आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा (शेर्पा)को भने यस वसन्त ऋतृमा खोजी नहुने स्रोतले जानकारी दियो । 

शिशापाङमा अलपत्र रहेका दुई शबको उद्दार गरी नेपाल ल्याउने प्रयोजनका लागि आरोहण गर्न दिन नेपाली टोलीलाई चाइना तिब्बत पर्वतारोहण संघले अनुमति दिएको छ । अनुमति प्रक्रियाकै क्रममा वसन्त ऋतृको लागि अब समय थोरै भएको र जोखिम हुने भएकाले यस सिजनका लागि लिइएको अनुमति समेत रद्द गरिएको स्रोतले जानकारी दियो ।

स्रोतको भनाई छ, ‘वसन्त ऋतृको लागि शिशापाङ आरोहण गर्न खोज्ने सबैलाई अनुमति दिएको थियो । तर पछि जोखिम बढी हुने डरले यस वसन्त ऋतृमा मृत्यु भएका अन्ना गुटु र मिङमार शेर्पाको शव निकाल्न मात्र पर्मिट दिएको छ । हराएकाहरुको अहिले खोजी गर्न नसकिए पनि मृत्यु भएकाहरुको शब ल्याउने बाटो खुलेको छ ।’ 

गुटु र शेर्पाको शव त्यतिबेला नौ संकलन गरी क्याम्प–२ मा टेन्टभित्र राखिएको थियो । अब त्यहाँबाट आधार शिविर झारिने छ । शब लिन जानेहरुलाई क्याम्प–२ भन्दा माथि जान अनुमति दिइएको छैन् । दुई जनाको शव क्याम्प–२ बाट झार्न नेपालबाट आठ जना आरोही र एक जना कुक गरी नौ जना दुई सातापछि तिब्बत जाने तयारीमा छन् । 

जुन आरोहण कम्पनीमार्फत गुटु र शेर्पा शिशापाङ चढ्न गएका थिए, उनीहरुको शव ​ इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडको पहलमा नेपाल ल्याउन लागिएको हो । हिमपहिरोमा बेपत्ता गाइड तेन्जेन विश्व कीर्तिमानी पर्वतारोही पनि हुन् । उनले नर्वेकी क्रिस्टिन हरिलासँग ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छिटो आरोहण गरी कीर्तिमान बनाएका थिए । 

शिशापाङ आरोहणको लागि आउँदो सेप्टेम्बर महिनामा प्रयास गर्ने, उक्त समयमा संघले अनुमति नदिए अर्को वसन्त ऋतुमा पुनः प्रयास गरी बेपत्ताहरुको खोजीको प्रयास गर्ने स्रोतले बतायो । 

उक्त हिमाल आरोहणका लागि तयारी गरिरहेकाहरुले यदी सेप्टेम्बरमा अनुमति पाए सोही समयमा चढ्ने र अनुमति नपाएको खण्डमा सन् २०२५ को वसन्त ऋतुका लागि प्रतीक्षा गर्ने बताए । 

Advertisement