सुनचाँदीको आयातमा २९ प्रतिशतले वृद्दि, छ महिनामा २० अर्ब बढीको आयात

Advertisement

काठमाडौंः चालु आर्थीक वर्षको पहिलो छ महिनामा २० अर्ब ६९ करोड ४५ लाख रुपियाँ बराबरको सुनचाँदी आयात भएको छ । सुनचाँदीको आयातमा गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ६३ प्रतिशतले वृद्दि भएको हो । गत वर्ष सोही अवधिमा १५ अर्ब ९६ करोड बराबरको सुनचाँदी आयात भएको थियो ।

चालु आवको पहिलो छ महिनामा सुनको आयातमा २४ दशमलव २ प्रतिशतले वृद्दि भई १४ अर्ब ६५ करोड रुपियाँको र चाँदीको आयातमा ४२ दशमलव ८ प्रतिशतले वृद्दि भई पाँच अर्ब ९४ करोड ४५ लाख रुपियाँको आयात भएको व्यापार तथा निकासी प्रर्वधन केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्षमा २३ अर्ब २३ करोडको सुन तथा आठ अर्ब ६० करोड रुपियाँ बराबरको चाँदी आयात भएको थियो ।

सुनचाँदी व्यावसाय महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अहिलेको समयमा सुनचाँदीको आयातमा भएको वृद्दि स्वाभाविक भएको बताए । उनले नेपाल राष्ट्र बैंकले सुन आयातको कोटामा वृद्दि गरेका कारण आयातमा वृद्दि भएको बताए ।

राष्ट्र बैंकले गत फागुनदेखि दैनिक १५ किलोग्रामको आयात कोटा बढाएर २० केजि पुर्याएको छ । राष्ट्र बैंकले बढाएको सुनको आयात कोटाको कारण २५ देखि ३० प्रतिशत आयात बढ्नु सामान्य भएको शाक्यले बताए ।

Advertisement

Advertisement

Advertisement