सुन तस्करीको अनुसन्धानमा खटिएका डिएसपी नै पक्राउ

Advertisement

काठमाडौंः कडा सुरक्षा जाँच पार गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमै खटिएका प्रहरी अधिकृतसमेत पक्राउ परेका छन् ।

मोरङका सुन व्यापारी सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका डिएसपी प्रजीत केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा छानविनका लागि हिरासतमा राख्न अदालतबाट म्याद गरेको छ ।

शाक्यको हत्याकाण्डबारे अनुसन्धानको जिम्मेवारी पाएका केसीको सम्पर्क सुन तस्करीका नाइके गोरे उपनामका चुडामणि उप्रेतीसँग पाइएपछि केसीलाई पक्राउ गरी हिरासतमा लिइएको हो । उप्रेतीले प्रहरीदेखि नेतासम्म सेटिङ मिलाएर नेपालमा सुन तस्करी गर्दै आएको सरकारले गठन गरेको छानविन समितिको ठहर छ ।

मोरङको उर्लाबारी नगरपालिका ७ निवासी सुन व्यापारी सनम शाक्यको हत्यापछि डिएसपी केसी यसको अनुसन्धानमा खटिएका थिए । शाक्यको गत फागुन १९ गते हत्या भएपछि शव बरामद गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाबाट केसीको टोली विराटनगर गएको थियो ।

यो प्रकरणमा महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसमेत तानिइसकेका छन् । उनी पनि हाल मोरङ प्रहरीको हिरसातमा छन् । यो प्रकरणमा लोहनी, केसी र सई बालकृष्ण सञ्जेलको सम्पर्क सुन तस्करीका नाइके उप्रेतीसँग जोडिएको पाइएपछि गृहमन्त्रालयबाट सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले उनीहरुलाई जिम्मेवारीविहीन बनाइसकेको छ ।

यही प्रकरणमा पूर्वडीआईजी गोविन्द निरौला पनि पक्राउ परेर हाल मोरङ प्रहरीकै हिरासतमा छन् । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गठित छानबिन समितिले सुन तस्करी प्रकरणमा जोडिएका २५ जना बढीलाई हिरासतमा लिइसकेको छ । यस अनुसन्धानमा प्रहरीका पूर्व डिआइजी एवं साँसद नवराज सिलवालले महत्वपूर्ण भूमिका खेल्दै आएको समाचार बाहिर आएका छन् ।

यस प्रहरणमा पूर्वडिआइजी निरौला, जिल्ला प्रहरी कार्याल मकवानपुरमा कार्यरत एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतसहित २५ जनामाथि समितिले अनुसन्धान अघि बढाइसकेको छ भने अरु धेर्रै प्रहरी अधिकृतहरुसमेत तानिने अनुमान गरिएको छ ।

Advertisement

Advertisement