बुढीगण्डकीको ड्याम्प भत्किए १० करोड मानिसको ज्यान जाने प्रधानको तर्क

Advertisement

काठमाडौंः उर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बुढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर प्रधानले यस्तो दाबी गरेका हुन् ।

भारत पक्षधर, विशेषगरी भारतीय कम्पनी जिएमआरका लागि काम गर्ने व्यक्तिका रुपमा चिनिएका प्रधानले नेपालको उर्जा क्षेत्रमा चिनियाँभन्दा भारतीय लगानीका पक्षमा लबिङ गर्दै आएका छन् । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षसमेत रहेका उनले बुढीगण्डकी आयोजना सरकारले फेरि चिनियाँ कम्पनीलाई दिने तयारी गरेको बेलामा यस आयोजनाका बारेमा फरक धारणा बाहिर ल्याएका हुन ।

प्रधानले भने, ‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा मोडेल काम लाग्दैन्, यो प्रोजेक्ट बनाउनको लागि हामीले रि–डिजाइन गर्नुपर्छ । अहिलेको कन्क्रिट आर्ट ड्याम्पको डिजाइन ब्रष्ट भयो भने यसले ठूलो भौतिक तथा मानवीय क्षति हुन्छ । नेपालका चितवन, नवलपरासी मात्रै होइन, भारत र बंगलादेशमा समेत यसले क्षति पुर्याउँछ ।’

नेपालका इन्जिनियरहरुले भने यस किसिमका ड्याम्पहरु विश्वमा धेरै रहेको भन्दै ब्रष्ट हुने संभावना नरहेको यसअघि नै बताइसकेका छन् । त्यसमाथि मुख्य ड्याम्पमा क्षति भए त्यसलाई रोक्न रिरेगुलेटिङ ड्याम्प पनि निर्माण गर्ने सरकारी पक्षले बताउँदै आएको छ ।

प्रधानले बुढीगण्डकीको अहिलेको ड्याम्पको उचाई धेरै अग्लो भएकोले यसको हाईट घटाउनको लागि डिजाईन परिवर्तन गर्नुपर्ने तर्क गरे । उनले थपे, ‘अहिलेको डिजाइनको ड्याम्प ब्रस्ट भयो भने कम्तिमा ९ देखि १० करोड मानिसको मृत्यु हुन्छ ।’ प्रधानले बुढीगण्डकी परियोजना ‘अर्थ फिल विथ कन्क्रिट कोर’ डिजाईनमा बनाउँदा उत्तम हुने सुझाए ।

उक्त परियोजना १२ सय मेगावाटबाट घटाएर ७८० मेगावाटको मात्रै बनाउनुपर्ने पनि प्रधानको भनाई छ । उनले भने, ‘यसलाई रि–डिजाईन गरेर मात्रै अघि बढाउनुपर्छ । रि–डिजाइन नगरे यो प्रोजेक्ट हाइड्रो बम बन्नसक्छ । डिजाइन परिवर्तन गरियो भने १.७ बिलियन मै बन्न सक्छ ।’

प्रधानले ‘संघीयतामा जलविद्युतको अपरिहार्यता’ शीर्षकमा नयाँ अवधारणा समेत सार्वजनिक गरेका छन् । उनले ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा प्रचुरमात्रामा जलश्रोतको विकासको सम्भावना रहेको औंल्याएका छन् ।

Advertisement

Advertisement