मन्त्रीले जनप्रतिनिधिलाई भने- १५० नगरपालिकामा मेघा सिटी, स्मार्ट सिटी विकसित गर्दैछौं

Advertisement

काठमाडौंः शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले एकीकृत शहरी विकास गर्न देशका १५० नगरपालिकामा एकीकृत शहरी योजना कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन ।

मन्त्री राईले शहरलाई मेघा सिटी, स्मार्ट सिटी विकसित गर्न लागिएको जानकारी दिँदै संघीय संसद् भवन निर्माण कार्य अगाडि बढेको बताए । उनले शहरी विकास तथा आवास निर्माण गर्न रकम विनियोजन गर्दा भेदभाव नगरिएको पनि दावी गरे ।

विपन्न समुदायलाई आवास निर्माण गर्दा सरकारले सुविधा दिने राईको भनाई छ । उनले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताए । घरबाट सिधै नदीमा ढल मिसाउने कार्य कडाइका साथ नियन्त्रण गर्ने राईको भनाई छ ।

भवन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न, सबै पालिकामा भवनसंहिता कार्यान्वयन गराउन उनीहरुको क्षमता बढाइएको भन्दै उनले जनता आवास कार्यक्रम प्रदेश तहबाट सञ्चालन गर्न रकम विनियोजन भएको बताए ।

मन्त्री राईको सो जवाफमाथि पूरक प्रश्न गर्दै सांसद प्रेम सुवालले प्रत्येक जिल्लाका जिल्ला सदरमुकामलाई सुविधा सम्पन्न गराउन के योजना छ भनी प्रश्न गरे ? सांसद सरिता गिरीले शहरी विकास कार्यक्रम नयाँ नगरपालिका पनि कार्यान्वयनमा ल्याउन माग गरिन ।

सांसद दिव्यमणि राजभण्डारीले भूकम्पपीडित जनतालाई थप राहत दिन माग गरे भने राजकिशोर यादवले प्रदेश नं २ का शहर स्मार्ट, मेघा सिटी बनाउन माग गरे ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री राईले सांसद आवास निर्माण कार्य अगाडि बढाइने, सिराह जिल्लामा बजेट यथेष्ट विनियोजन भएको बताए ।

Advertisement

Advertisement